डडेल्धुरा ४ मंसिर/प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको मितिमा चुनाव भएको भन्दै खुसी व्यक्त गरेका छन् । गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका(१ को असिग्राम माविबाट मतअधिकार प्रयोग गरेका देउवाले निर्वाचन नहुने भन्दै कतिपय तत्त्वले भ्रम फैलाइरहे पनि तोकिएको मितिमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएकोमा भन्दै खुसी व्यक्त गरेका हुन् ।
उनले वाम लोकतान्त्रिक गठबन्धनको सरकारले तोकिएको समयमा निर्वाचन गराई लोकतन्त्र र संविधानको रक्षा गरेको बताए । मतदान गरिसकेपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले निर्वाचनपछि देशमा समृद्धिको बाटो खुलेको बताए। उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक हुँदा अब देशको यात्रा विकास र समृद्धितर्फ हुने बताए ।
प्रधानमन्त्री देउवा र उनकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सामानुपातिकतर्फका उम्मेदवार डा।आरजु राणा देउवाले असिग्राम मावि केन्द्रबाट आइतबार बिहान १०ः०५ बजे मतदान गर्नुभएको थियो। निर्वाचनपछि भावी प्रधानमन्त्री को हुने रु भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले आचारसंहिताको बेला धेरै कुरा बोल्न नमिल्ने बताए ।
सत्ता गठबन्धन दलहरु मिलेर गठबन्धन गरेर निर्वाचनमा होमिएको उल्लेख गर्दै देउवाले अबको तीनरचार वटा निर्वाचनसम्म गठबन्धन कायम रहने बताए । गठबन्धन लामो समयसम्म सरकार सञ्चालन गर्न सके राजनीतिक स्थिरता कायम हुने र देशमा विकास, समृद्धि हुने उनको भनाइ छ। मतदान गरिसकेपछि देउवा राजधानी काठमाडौं फर्किनुभएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। निर्वाचन अघि देउवाले कात्तिक १७ गते देखि २० गतेसम्म डडेलधुराका सातवटै स्थानीय तहमा पुगेर सातवटा चुनावी आमसभालाई सम्बोधन गरे ।
