धनगढी, २२ कार्तिक/डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा ६ जनाको मृत्यु भएको छ । पूर्वी चौकी गाउँपालिका–३ का ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले जानकारी दिए ।
४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ ।उनीहरु ६ जनाकै शव निकालिएको छ । सोही वडाका अन्य पाँचजना घाइते भएका छन् ।
डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको पछिल्लो भूकम्पले मानवीय क्षतिसमेत भएको हो ।भूकम्पमा परेकाको उद्धारमा अहिले नेपाली सेना खटिएको छ । नेपाली सेनाले घाइतेको उद्धार गरिरहेको छ ।