काठमाडौं, १८ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा बहस गरेका कानुन व्यवसायीहरूले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने तयारी गरेका छन् । सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनका कानुन व्यवसायीले पुनरावेदनमा जाने तयारी गरेका हुन् ।
सन्दीपक्षको पक्षमा बहस गरेकी अधिवक्ता सुधा रिजालले आफूहरूसँग बलियो प्रमाण भएकाले उच्च अदालतबाट न्याय पाउने आशा लिएको बताइन् ।आज सम्मानित अदालतबाट सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दा अगाडि बढाउने वा थुनाबाट बाहिर राखेर मुद्दालाई निरन्तरता दिने भन्ने बहस पैरवी भएको थियो । सम्मानित अदालतको बेन्चबाट लामिछानेलाई कारगारभित्रै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको छ । हामी यसको रिभ्यूमा जान्छौँ । हामीसँग प्रमाणहरू छन् । सम्भवतः जिल्ला अदालतबाट नपाएको न्याय माथिल्लो अदालतबाट पाउँछौँ भन्ने आशा लिएका छौँ, उनले भनिन् ।
तर अर्का अधिवक्ता यज्ञमणि न्यौपानले भने बलात्कारको आरोप लागेका व्यक्तिहरू उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै निर्णयलाई स्वीकार गरिसकेको नजिर रहेकाले सन्दीप पक्षधर वकीलहरूले यसबारेमा सल्लाह गरेर अघि बढ्ने बताए । उनले नेपालको संविधान पुरानो भएकाले त्यसलाई परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले पुरानो ऐन, कानुनले गर्दा छुट्ने व्यक्तिहरू पनि कारागार जान बाध्य भइरहेको दाबी गरे ।
सन्दीपले गत भदौ ५ गते राति काठमाडौंस्थित एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै नाबालिकाको तर्फबाट भदौ २१ मा प्रहरीमा उजुरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछानेविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले गत सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन माग दाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।
सन्दीपलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारगार सुन्धारा पठाइएको छ ।