काठमाडौं, १७ कात्तिक । गतवर्ष चैत महिनाबाट सुरु भएको अफ्रिकन स्वाइन फिभर कात्तिकसम्म आइपुग्दा १३ जिल्लामा फैलिएको छ ।काठमाडौं आसपासका जिल्ला हुँदै पूर्वाञ्चल र सुदूरपश्चिममा देखिएको यो संक्रमण १३ जिल्लामा फैलिइसकेको पशु सेवा विभागको तथ्यांक छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका अनुसार देशभरका सबै जिल्ला अहिले अफ्रिकन स्वाइन फिभरको जोखिममा रहेका छन् ।
के हो अफ्रिकन स्वाइन फिभर ? कति घातक ?
अफ्रिकन स्वाइन फिभर बंगुररसुँगुर प्रजातिमा भाइरसका कारण हुने महामारीजन्य रोग हो । यो रोगको संक्रमण भएका जनावरमा मृत्युदर १०० प्रतिशतसम्म हुन्छ ।
फिभर संक्रमित अधिकांश जनावरमा लक्षण कम देखिन्छ भने केहीमा ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राउने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जम्ने, खाना नखाने बान्ता गर्ने र केही दिनपछि मृत्यु हुने गर्दछ ।
चीन तथा भारतमा सन् २०१८ देखि देखिएको यो संक्रमण नेपालमा भने गतवर्ष चैतमा मात्रै देखिएको हो । सुरुवाती चरणमा काठमाडौं आसपासका जिल्लाहरुमा देखिएपनि अहिले देशैभरी बढेको पशु सेवा विभागले जनाएको छ ।
व्यावसायिक रूपमा पालिएका जनावरहरूलाई अफ्रिकन स्वाइन फिभरबाट जोगाउन देशैभरीका किसानहरूलाई सचेतनामूलक कार्यहरू गरिरहेको विभागका वरिष्ठ पशु विकास अधिकृत डा। चन्द्र ढकालले बताए ।
कसरी सर्छ ?
अफ्रिकन स्वाइन फिभर सुंगुररबंगुर प्रजातिका जनावरहरूबीचको प्रत्यक्ष सम्पर्कबाट सर्नेगर्छ ।संक्रमित पशुको र्याल, रगत, मलमुत्र, दानापानी, संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेका सामाग्रीहरूमार्फत एक अर्कामा यो संक्रमण सर्ने गरेको छ ।
त्यस्तै, संक्रमित जनावरको ओसारपसार तथा किनबेचमार्फत पनि यो संक्रमण फैलिन सक्छ । नेपालको हकमा छिमेकी मुलुकहरूमा अफ्रिकन स्वाइन फिभर देखिएकै वर्षबाट ती देशहरूबाट सुँगुर बंगुर ल्याउन कडाइ गरिएपनि नियन्त्रणमा कठिनाइ भएको डा.ढकाल बताउँछन् ।
मानिसमा सर्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार अफ्रिकन स्वाइन फिभर सुँगुररबंगुर प्रजातिका लागि महामारीजन्य संक्रमण भएपनि मानिसमा भने सर्दैन ।
तर, यी प्रजातिका जनावरमा स्वाइन फिभरजस्तै अन्य संक्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुँगुर तथा बंगुरको मासु राम्रोसँग पकाएर मात्रै खान तथा यिनीहरूसँग अनावश्यक सम्पर्कमा नजान विभागले सुझाएको छ ।
सुँगुररबंगुरबीच संक्रमण सर्न नदिन घरपालुवा बंगुर, सुँगुरलाई जंगली बँदेलसँग सम्पर्क हुन नदिने, रोगी बंगुर, सुँगुरलाई जंगली बँदेलको मासु, सुकुटीको माध्यमबाट पनि सर्नसक्ने भएकाले संक्रमणबाट मरेका जनावरहरूलाई गहिरो खाडल खनेर पुर्ने, तथा अन्य बथानबाट ल्याइएका जनावरलाई २१ दिन क्वारेन्टाइनमा राख्ने अभ्यास गर्न विभागको सुझाव छ ।
