काठमाडौं, १२ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन घोषणपत्रमा के गर्छौं के गर्दैनौँ भनेर २० बुँदे प्रतिवद्धता जारी गरेको छ । शनिबार जारी गरिएको निर्वाचन घोषणापत्रमा पार्टीले ११ बुँदामा गर्ने काम र ९ बुँदामा नगर्ने कामको प्रतिवद्धता जारी गरेको हो ।
कांग्रेसले संघीय संरचनालाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई बलियो बनाउने उल्लेख गरेको छ । यस्तै सार्वजनिक संस्थालाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने, २ दर्जन ऐनहरुको आर्थिक प्याकेज ६ महिनाभित्र ल्याउने, संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्नेलगायत ११ बुँदामा गर्ने कार्यहरुको प्रतिवद्धता जारी गरेको छ ।
कांग्रेसले ९ बुँदामा सार्वजनिक गरेको नगर्ने काममा दलहरुको आन्तरिक विवाद वा फरक दलहरुबीच विवादका कारणले संसद् विघटन गर्ने असंवैधानिक काम नगर्ने उल्लेख गरको छ । यस्तै प्राकृतिक स्रोत साधनको दोहन, विभिन्न हिंसा, स्वार्थअनुकूल हुने द्वन्द्व र विदेश नीति, वैदेशिक सहयोग र रुपान्तरणकारी ठूला विकासका परियोजनलाई क्षणिक लाभका लागि राजनीतिकरण नगर्ने उल्लेख गरेको छ ।
