धनगढी, १० कार्तिक/शुक्रबार दिउँसो भाइटीका लगाएर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू चुनावी अभियानका लागि गाउँमा निस्किए । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका बडू बहिनी वसन्ती जोशीको हातबाट टीका थापेर घरदैलो अभियानका लागि गाउँ चहार्न निस्किए ।
बुधबार पुर्ख्यौली गाउँ व्याँस गाउँपालिका–६ बडूगाउँ पुगेर घरदैलो गरेका उनले आज महाकाली नगरपालिकाको वडा नम्बर ३ मालबेला, जायझुल र बाँजमा घरदैलो गरे । सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उमेदवार बडूसँग प्रदेशसभा क्षेत्र नम्बर १ का उमेदवार कांग्रेसका महासमिति सदस्य विक्रम सिंह धामीसहितका नेता कार्यकर्ताहरू थिए ।
जब उनी मालबेला र जायझुल गाउँमा पुगे स्थानीयले उनीसँग गुनासाहरू पोखे । उनीहरूको प्रश्न थियो,हाम्रो गाउँमा न सकड छ, न राम्रो सञ्चार नै, हिँड्न पनि राम्रो बाटो छैन । दुई दुई पटक जिताएर सांसद बनाएर पठाउँदा आखिर हामीले के पायौँ रु जितेकाहरूले एम्बुलेन्स दिन्छौँ भने तर बिरामी अस्पताल लैजान समेत स्ट्रेचर छैन । चुनाव नजिकिएिसँगै नेताहरू गाउँ गाउँ पुगेर प्रचार प्रसारमा जुटेका छन् ।
