काठमाडौं, ६ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि ३० प्रतिशत मतपत्र छाप्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म करिब ७० प्रतिशत मतपत्र छपाइ भएको छ । जसमा प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ भएको छ ।
प्रत्यक्षतर्फ १ करोड ६७ लाख ५०० मतपत्र छपाइ भएको आयोगले जनाएको छ । जसमा प्रतिनिधिसभाका लागि ८७ लाख १ हजार र प्रदेशसभाको लागि ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने छपाइ भइसकेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् ।
यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्षतर्फ चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । यसअनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।
आयोगका अनुसार ६८ जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको छ । ढुवानी भएकामध्ये प्रदेशसभाका लागि १ करोड ९६ लाख १७ हजार तथा प्रतिनिधिसभातर्फ १ करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ ।