काठमाडौँ, १ कात्तिक । राप्रपा नेपालका पाँच पदाधिकारीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन्।अध्यक्ष कमल थापाले एमालेको चिन्ह लिएर मकवानपुर १ बाट चुनाव लड्न लागेपछि असन्तुष्ट उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले माओवादी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमा गएर भेट गरेका हुन्।
भेटमा सहभागी एक नेताका अनुसार एक घण्टा छलफल चलेको थियो। भेटमा सहभागी अर्का एक नेताका अनुसार राप्रपाका ती सबै नेताहरु अध्यक्ष कमल थापासँग असन्तुष्ट छन्।
‘आफू एमालेको चिन्ह लिएर चुनाव लड्ने अनि पार्टीका अन्य नेतालाई राप्रपा नेपालकै चिन्हमा लड भन्ने उहाँको कदमले हामीलाई दुखित बनाएको छ,’ ती नेताले भने, ‘खासमा अहिले पार्टी प्रवेश नगर्ने तर, गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने उहाँहरुले प्रतिवद्धता जनाउनुभएको छ।’
सो क्रममा माओवादी अध्यक्ष प्रचण्डले विगतमा जनयुद्धका क्रममा वीरेन्द्रसँग कुराकानी धीरेन्द्र मार्फत् हुने गरेको बताएका थिए।
‘तपाईँहरु र हाम्रो विचार, सिद्धान्त फरक भएपनि राष्ट्रियताको विषयमा कुरा मिल्छ,’ प्रचण्डको भनाई उधृत गर्दै राप्रपाका अर्का एक पदाधिकारीले भने, ‘विगतमा पनि राजा वीरेन्द्रसँग धीरेन्द्र मार्फत् कुरा हुन्थ्यो, ज्ञानेन्द्र राजा भएपछि सम्बन्ध अलि ट्याक्टिकल भयो।’
राप्रपाका पदाधिकारीहरुले प्रचण्डलाई राजनीतिको केन्द्र रहेको नेता भन्दै गोरखाबाट चुनाव जिताउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।‘अहिलेको राजनीतिको केन्द्र तपाईँ हो, गोरखाबाट चुनाव जिताउन सहयोग गरौंला,’ उनीहरुले प्रतिवद्धता जनाउँदै प्रचण्डलाई भनेको कुरा उधृत गर्दै माओवादीका अर्का नेताले भने।
राप्रपा नेपालले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मकवानपुर–१ बाहेक अन्य क्षेत्रमा आफ्नै चुनाव चिन्ह लिएर लड्दैछ। श्याम तिमल्सिना केही समय अघि मात्र राप्रपा छाडेर राप्रपा नेपाल प्रवेश गरेका थिए।