काठमाडौं, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदावारी मनोनयन गर्ने निर्धारित समय सकिएको छ ।
निर्वाचन आयोगले मनोनयनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेको समय तोकेको थियो । तर, अधिकांश स्थानमा मनोनयन दर्ता सकिएको छैन । मनोनयन दर्ताका लागि अधिकांश स्थानमा उमेदवारहरू पुगिरहेका छन् ।
आयोगका सहायक प्रवक्ता ऋषि भुसालका अनुसार निर्धारित समय सकिए पनि निर्वाचन अधिकृतको कार्यालयको घेरामा पुगेकाले मनोनयन दर्ता गर्न पाउँछन् ।
“निर्धारित समय त सकियो । दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयको घेरामा पुगेकाले दर्ता गर्न पाउनुहुन्छ,” उनले भने । साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयन भएका उमेदवारको सूची सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।
