काठमाडौं १३ असोज/नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पछिल्लो तीन निर्वाचनका मुख्य प्रतिस्पर्धा गरेका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट यसपटक प्रदेशसभामा उमेदवार हुने भएका छन् ।
आसन्न संसदीय निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच चुनावी सहकार्य गर्ने सहमति भएसँगै भट्टले देउवाका लागि मैदान छाडेका हुन् । भट्ट डडेलधुरामा तीनपटक देउवासँगै चुनाव लडेका थिए । तीनैपटक उनी पराजित भए ।यसपटक भने कांग्रेससँगै गठबन्धन भएपछि देउवा र भट्ट दुवैले राहतको महसुस गरेका छन् । माओवादीको समर्थन पाएसँगै देउवाले डडेलधुरामा सहजै निर्वाचन जित्ने अनुमान गरिएको छ । भट्टलाई भने गठबन्धनबाट यसपटक डडेलधुरा प्रदेशसभा ‘क’बाट उमेदवार बनाउने तयारी छ ।
नेता भट्टले आफ्नाबारे गठबन्धनका नेताहरुले टुङ्गो लगाउने बताए । भने, “पार्टीले मेरो न्यायपूर्ण व्यवस्थापन गर्ने कुरामा म ढुक्क छु । मेरो चाहना पनि प्रदेशसभा भए ‘क’ नै हो । तर, पार्टीको निर्णय नै अन्तिम हो ।”उनले आफू गठबन्धनलाई जिताउन सक्रिय भएर लाग्ने बताए ।देउवा ०४८ यता डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आएका छन् ।
पछिल्ला तीन निर्वाचनमा खगराज नै देउवासँग भिडेका प्रतिद्वन्द्वी हुन् । तीनै निर्वाचनमा देउवाले जिते, खगराजले चुनौती दिँदै गए ।डडेलधुराका कांग्रेस नेता–कार्यकर्ताहरू भने देउवाले आसन्न निर्वाचनमा जीवनकै सबैभन्दा बढी मत पाउने दाबी गर्छन् । यसमा खगराजकै भूमिका महत्त्वपूर्ण हुने देखिन्छ ।डडेलधुरामा नेकपा एमाले तेस्रो शक्ति हो ।
०७४ मा बाम गठबन्धन हुँदा पनि देउवाले जितेकाले यसपटक माओवादीको समर्थनले अत्यधिक मत पाउने कांग्रेस नेता कार्यकर्ताहरु बताउँछन् ।०६४ को पहिलो संविधानसभा निर्वाचनमा खगराज देउवासँग एक हजार ३६८ मतान्तरले पराजित भएका थिए । देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत पाएका थिए ।
दोस्रो संविधानसभाको निर्वाचनमा देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत पाए । ०७४ मा देउवाले २८ हजार ४४६ मत पाउँदा भट्टले २१ हजार ४९८ मत पाएका थिए ।भट्टलाई प्रदेशसभा सदस्यको उमेदवार बनाउने र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने चर्चा पनि छ । तर, यसको पुष्टि भने पार्टी र गठबन्धनबाट भएको छैन । माओवादीको भागबण्डामा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परे निर्वाचित भएको अवस्थामा भट्ट नै सबैभन्दा बलिया दाबेदार हुन् ।