धनगढी, १३ असोज/नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफू कैलाली ४ को स्वभाविक उम्मेदवार भएको बताएका छन् । उनले आफू यस पटक मात्रै चुनाव लड्ने बताए । उनले भने, ‘त्यो क्षेत्रबाहेक म अरू कुनै पनि क्षेत्रमा जान्नँ । न, समानुपातिक, राष्ट्रियसभा वा अरू कुनै अवसरका लागि इच्छुक छु ।’
उनले कैलाली ४ को उम्मेदवारीबारे फैलाइएका भ्रममा नपर्न नेता–कार्यकर्ता र जनतालाई आग्रहसमेत गरे । पाँचदलीय गठबन्धनबीच प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ कैलालीका पाँचमध्ये तीन क्षेत्र काङ्ग्रेस र दुई क्षेत्र नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति भइसकेको छ । कैलाली १, ४ र ५ काङ्ग्रेसको भागमा परेको छ भने २ र ३ माओवादी केन्द्रले पाएको छ ।कैलाली ४ बाट नेता भण्डारीसहितको नाम सिफारिस भएको थियो । तर गठबन्धनका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा सिफारिसबाहिरका आकाङ्क्षीलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको छ ।
आज बिहीबार धनगढीमा पत्रकार भेटघा क्रममा ७२ वर्षीय नेता भण्डारीले भने, ‘मेरो साढे पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा मैले २०७४ सालमा पहिलो पटक कैलाली ४ मा काङ्ग्रेसबाट चुनाव लडें तर पराजित भएँ । त्यसपछिका दिनमा म निरन्तर सो क्षेत्रका नेता–कार्यकर्ता र जनतामाझ सक्रिय छु । सो क्षेत्रमा मलाई सबैले स्वभाविक उम्मेदवारका रूपमा स्वीकार गरिसकेको मैले अनुभव गरेको छु ।’उनले यसपटक मात्रै प्रत्यक्षतर्फको चुनाव लड्ने र त्यसबाहेक अरू कुनै क्षेत्रमा नजाने पनि बताए ।
उनले भने, ‘हुन त म दुई पटक काङ्ग्रेसको केन्द्रीय सदस्य बनें । राष्ट्रियसभा सदस्य पनि बनें तर सक्रिय राजनीतिमा लागेको जो–कोहीलाई पनि जनतामाझ आफूलाई परीक्षण गर्ने लक्ष्य हुन्छ नै, मैले पनि जीवनको उत्तरार्धमा आफूलाई जनतामाझ परीक्षण गर्ने चाहना राखेको छु ।’