काठमाडौं, १६ भदौ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता नागरिकता विधेयक राष्ट्रियसभाबाट आजै पारित गर्ने तयारी गरिएको छ ।
विधायन व्यवस्थापन समितिले हिजो पारित गरेको उक्त संशोधित विधेयक अहिले पौने ५ बजे बस्ने राष्ट्रियसभाको दोस्रो बैठकमा पेस गर्ने गरी कार्यसूची बनेको छ ।
नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको बैठकमा विधायन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गरेका थिए । विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त विधेयकमा हिजो एमाले सांसदहरूले फरक मत राखेका थिए ।
संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औंल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् ।
यसपछि बसेको प्रतिनिधिसभा बैठकले हुबहु विधेयक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित राष्ट्रियसभामा पठाइएको थियो ।
राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको विधेयक विनासंशोधन पारित गरी राष्ट्रियसभामा पेस भएको हो ।
