बुटवल, ११ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । सम्मेलन केन्द्र सहरी विकास मन्त्रालयमार्फत् १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।
केन्द्रको उद्घाटनमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणी चौधरी, एमाले उपाध्यक्ष बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेको सहभागिता रहेको छ ।
यो सभाहल सञ्चालनमा आएसँगै जाडो होस् या चर्को गर्मी तथा वर्षाको बीचमा खुला आकासमुनी सभा सम्मेलन तथा विभिन्न कार्यक्रम गर्नुपर्ने बाध्यता हट्नेछ ।
बुटवल उपमहानगरपालिका वडा नं। १० रामनगरमा सभाहल निर्माणका लागि २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता गर्दा पाँच वर्षमा निर्माणसक्ने भनिए पनि नाकाबन्दी र भूकम्पका कारण ढिलो गरी थालिएको सम्मेलन केन्द्रको काम कोरोना महामारीका कारण केही समय प्रभावित बन्यो । यद्यपि, ढिलै भए पनि निर्माणको काम पूरा भएको छ ।
साना ठूला गरी एउटै छानोमुनि दुई हजार जना क्षमताका हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौंभन्दा बाहिरको सबभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो ।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ ।सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिगाह क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ ।
सतहबाट हेर्दा ब्लक अनुसार फरक–फरक संरचना देखिएको सम्मेलन केन्द्र आकाशबाट हेर्दा तीनवटै भवन एक आपसमा जोडिएर नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिएको छ ।
पहिलो चरणमा १ हजार ११४ जना अट्ने क्षमताको मुख्य सभाहल रहेको भवन, दुईवटा लेक्चर हल, ६ वटा मिटिङ हल, भीआईपी, भिडियो, अडियो, ट्रान्सलेटरलगायत कक्ष छन् ।दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुईवटा ५०र५० र दुईवटा १र१ सय क्षमताका हल छन् ।
भौतिक पूर्वाधारको हिसाबले पहिलो चरणमा मुख्य भवन निर्माण गरिए पनि रङरोगन, सजावट, कुर्ची टेबल, विद्युत, सीसीटीभी जडान, प्रवेशद्वारलगायत संरचना दोस्रो चरणमा निर्माण गरिएकाले लागत रकम पनि बढी छ ।
आयोजना प्रमुख धर्मेन्द्र पन्थीका अनुसार पहिलो चरणको काम २३ करोड ७६ लाख रुपैयाँ र दोस्रो चरणको काम ८० करोड गरी १ अर्ब ३ करोड ७६ लाख रुपैयाँमा निर्माण भएको छ ।
दोस्रो चरणमा सभाहल परिसरको ग्रिनरी सहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीहरूको लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचा लगायतका संरचना निर्माण गरिएका छन् ।
त्यसैगरी सम्मेलन केन्द्रभित्र कुर्ची, साउण्ड सिस्टम, कार्पेट एचभीएसीलगायतको काममा गरी १ अर्ब ११ करोड रुपैयाँ लगानी भएको छ । यी एक सय क्षमताका छन्। त्यसबाहेक २ वटा सर्भिस ब्लक, १ क्यान्टिन, १ ग्रीन हाउस, ६ जना बस्न मिल्ने कर्मचारी आवासका लागि भवन निर्माण भएको छ । त्यस्तै, चारवटा सुरक्षागार्ड हाउस बनिसकेका छन् ।
दुईवटा प्रवेशद्वार र एउटा निकास द्वारसँगै भीआईपी र सर्भिसद्वार गरी पाँचवटा गेट तयार भएका छन् । दुईटा टिकट काउन्टर निर्माण भइसकेका छन् ।
लिफ्टसहितको सम्मेलन केन्द्र परिसरमा ग्रिनरीसहितको बाटो, फुटपाथ, बगैंचालगायत संरचना निर्माण गरिएका छन् । सम्मेलन केन्द्रमा हेलिप्याड र चारसय गाडी र चारसय मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल बनाइएको छ ।
विद्युतका लागि छुट्टै सव–स्टेशन र ६३० केभीए क्षमताको विद्युत ट्रान्सफर्मर राखिएको छ । सभाहल अगाडि पोखरी निर्माण गरिएको छ भने बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिस्ट्रेसन र टिकट काउण्टर निर्माण गरिएका छन् ।