विराटनगर,९ भदौ । उम्मेदवार सिफारिसका विषयमा विवाद हुँदा नेपाली कांग्रेस मोरङ क्षेत्र –४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन् । विराटनगर महानगरपालिका–३ मा रहेको वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कार्यकर्ताले बस्नेतमाथि हातपात गरेका हुन् ।
मंसीर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेशको सामानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दै पुगेका राजु थापाले हातपात गरेका हुन् ।
स्थानीय तहको चुनावमा आफूलाई टिकट नदिएको भन्दै असन्तुष्ट बनेका उनले समानुपातिक सूचीमा आफ्नो नाम राख्न भनेपछि बस्नेतले प्रदेश निर्वाचन क्षेत्रबाट प्रक्रिया पुर्याएर सिफारिस आउनुपर्ने बताए । सोही विषयमा विवाद बढ्दै जादा थापा र बस्नेतबीच हात–हालाहालको अवस्था सृजना भएको घटनास्थलमा कांग्रेसका एक कार्यकर्ताले बताए ।
‘उनी मेरो भाइ हुन्, तर डोमिनेशन गरेर बोले,’ थापाले भने, ‘त्यसपछि हात हालाहाल भयो, अरुले छुट्याए ।’ उनले आफूले क्षेत्र नम्बर ४ को ख बाट समानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दा बस्नेतले नमानेको बताए ।
क्षेत्रीय सभापति बस्नेतले प्रक्रियाको कुरा गर्दा विवाद भएको बताए । समानुपातिक सूचीमा क्षेत्रले सिफारिस गर्नका लागि लागि प्रदेश निर्वाचन क्षेत्रबाट सिफारिस आउनुपर्ने बताएपछि थापा आवेशमा आएको उनले बताए ।
‘समानुपातिक सिफारिसका लागि प्रदेश निर्वाचन क्षेत्रीय समितिले सिफारिस गर्छ, मैले हस्तक्षेप गर्न मिल्दैन,’ उनले भने,‘मैल विधिको कुरा गरेरको थिए, उहाँ आवेशमा आउनुभयो ।’
उनले घटना सामान्य भएको बताए । ‘उहाँ आज मेरो घरमा आउनु भएको थियो, घरमा एकछिन छलफल पछि चिया पसल गएपछि विवाद भयो,’ उनले भने,‘ उहाँ सुरुदेखि नै आक्रामक रुपमा हुनुहुन्न्थ्यो ।’ बस्नेत विराटनगर–३ का पूर्व वडा अध्यक्ष हुन् ।