बुटवल, ३ भदौ । दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । राजपुरगाउँपालिका ७ गजमिरेकी ७ वर्षीया बालिका सम्झना परियारको झाडापखालाबाट मृत्यु भएको हो ।
गाउँ नजिकको स्वास्थ्य चौकीमा उपचारका क्रममा सम्झनाको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए ।उनकी ४० वर्षीया आमा लालमती र ३ वर्षीया बहिनी सपना पनि बिरामी छन् ।
त्यस्तै, स्थानीय खिमबहादुर बुढाकी ३ वर्षीया छोरी अस्मिता बुढा पनि बिरामी परेकी छन् । गौतमका अनुसार उनीहरूको स्थानीय उपचार सामुदायिक उपचार केन्द्रमा जारी छ ।
गजमिरे गाउँमा स्थानीय प्रहरी टोलीलाई खटाइएको तथा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई सघाउन आग्रह गरिएको उनले बताए । गजमिरे नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।