कञ्चनपुर, २३ साउन – सुदूरपश्चिमका युवा नेता लेखराज जोशीले आउँदो निर्वाचनमा कञ्चनपुरबाट प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी थालेका छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट नेता जोशी चुनावी मैदानमा उत्रिने भएका हुन् ।
बाणी क्षेत्रमा चुनावी माहोल बनाउँदै गरेको भेटिएका नेता जोशीले सुदूरपत्रकर्मीसँग भने,‘यसपालिको निर्वाचनमा म प्रदेश सभा सदस्यको तयारीका लागि गाउँगाउँमा नेता कार्यकर्तासँगको सरसल्लाह तथा सुझाव संकलनमा जुटेको छु ।’ आफूले प्रदेश सभा सदस्य पदका लागि अग्रज नेता कार्यकर्ता तथा आम मतदाताको सल्लाह र सुझाव लिइरहेको बताउँदै उनले भने,‘मेरा अग्रज तथा सहकर्मी साथीहरुको सल्लाह अनुसार गाउँगाउँमा गई सुझाव लिन थालेको छु ।’
पार्टीले प्रदेश सभा सदस्य पदका लागि टिकट दिएमा आफूले अत्याधिक मतका साथ जित्ने दावी गर्दै उनले भने,‘मेरो पक्षमा यहाँका अग्रज नेता तथा सहकर्मी युवासाथीहरु छन् । हिजोको विद्यार्थी राजनीतिदेखि लिएर अहिलेको पार्टीको पूर्णकालीन राजनीतिसम्ममा गरेको संगठन विस्तार, मिलनसार व्यवहार र जनताका पक्षमा गरेका कामको मूल्याङ्कन मेरो क्षेत्रका मतदाताले गर्ने भएकाले मेरो जितको पहिलो आधार नै यही हो ।’ निष्ठावान् नेतृत्व र किसान केन्द्रीत नीति अवलम्बन गर्ने लक्ष्य बोकेका नेता जोशीलाई सुदूरपश्चिममा एक आदर्शवान् नेताका रुपमा कार्यकर्ताले बुझ्ने गरेका छन् । नेता जोशीले सुदूरपश्चिममै रहेर विद्यार्थी आन्दोलनदेखि १९ दिने जनआन्दोलनका साथै विभिन्न सामाजिक आन्दोलनमा गरेको योगदान लोकप्रियताको आधार भएको कार्यकर्ताहरु बताउँछन् ।
घरैदेखि कांग्रेसकै राजनीतिक वातावरणमा हुर्केका लेखराज जोशी नेपाल विद्यार्थी संघको राजनीतिमा परिचित नाम हो । कुनैताका सुदूरपश्चिममै चर्चित क्याम्पसका रुपमा रहेको कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीतिमा उदायएका जोशी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा रहेर काम गरिसकेका छन् । सुदूरपश्चिममा विद्यार्थीको हक हितका लागि गरिएका आन्दोलनमा होस् या १९ दिने जनआन्दोलनमा होस् नेता जोशीले देशमा लोकतन्त्र ल्याउन महत्वपूर्ण योगदान पु¥याएको समकालीन विद्यार्थी नेताहरु बताउँछन् । राजा ज्ञानेन्द्रको ‘कू’ पछि सबैभन्दा बढी जेल र यातना भोगेका नेता जोशी तत्कालीन नेकपा माओवादीको युवा संगठन वाइसिएलको आक्रमणमा पनि परेका थिए ।
जन आन्दोलनमा आन्दोलनकारीका लोकप्रिय रहेका नेता जोशीलाई ‘टार्गेट’ गरेरै प्रहरीले दमन गरेको थियो । प्रहरीको दमनबाट घाइते बनेका जोशीलाई प्रहरीले नै त्यो बेला पक्राउ गरी उपचार गर्नुको साटो सम्पर्कविहीन बनाएर कैद गरेको थियो । ‘त्यो दिन सम्झँदा अहिले पनि झसंग हुन्छ’, नेता जोशीले भने,‘धनगढीमा जनआन्दोलनको राप दन्केको थियो, त्यही रापमा हेलिँदै म पनि आन्दोलनको अग्र मोर्चामा थिए, प्रहरीले नियोजित ढंगले मलाई लाठी र बुट प्रहार गरी घाइते बनाएर सम्पर्कविहीन बनाएको थियो ।’ सुदूरपश्चिमको विद्यार्थी राजनीतिमा इँटा थपेका जोशीले पार्टीको राजनीतिमा पनि संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।