धनगढी, २३ असार/देशभरका ७ सय ५३ स्थानीय तहमध्ये निर्वाचन हुन बाँकी बूढीगंगा नगरपालिकामा बिहीबार बिहानदेखि पुनः निर्वाचन हुँदै छ । बिहीबार हुने निर्वाचनमा बूढीगंगा नगरपालिकाका १२ हजार ६ सय ५९ मतदाताले मतदान गर्न पाउनेछन् । बूढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्र रहेका छन् ।
निर्वाचनलाई मर्यादितरूपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए । अधिकृत घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न आवश्यकता अनुसार सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ । निर्वाचन गराउन ९५ कर्मचारी खटाइएको छ ।
मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मुख्य निर्वाचन अधिकृत घिमिरेको अध्यक्षतामा सर्वदलीय बैठक बसी निर्वाचनलाई निष्पक्ष बनाउनेमा कांग्रेस, एमालेलगायतका केन्द्रीय स्तरका नेताहरूले साझा प्रतिबद्धता जाहेर गरेका छन् । प्रतिबद्धता जाहेर गर्नेमा नेकपा एमालेका कर्णबहादुर थापा, नेपाली कांग्रेसका बद्री पाण्डे, सांसद लालबहादुर थापालगायत जिल्लास्थित नेताहरूको सहभागिता रहेको थियो ।
विगतका तिक्तता त्यागेर स्वतन्त्र, निष्पक्ष भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन दलका नेताले लिखित सहमति गरेको मुख्य निर्वान अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत घिमिरेले भने– ‘गाउँगाउँमा सुरक्षाकर्मी तैनाथ छन् । मतदान केन्द्रको पहिलो घरेमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना हुन्छन् मतदातालाई असुरक्षाको महसुस गर्नै दिन्नौं ।’
बूढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण कठायतले नेपाल – बिहीबार बिहान सात बजेदेखि शुरू हुने मतदानका लागि आवश्यक सामग्री तथा जनशक्ति मतदान स्थलमा पुगिसकेको र सुरक्षाको पनि भरपर्दो व्यवस्था मिलाएका छौं ।’ असक्तको परिचयपत्रको आधारमा एकाघर परिवारको सदस्य वा मतदान अधिकृतले मतदान गरीदिन सक्ने तर, नेपाल सरकारबाट अशक्तताको परिचयपत्र अनिवार्य कायम गरेको हुनुपर्नेछ ।
सर्वदलीय बैठकबाट पनि आफ्नो मत आफैं खसाउने सहमति भएको छ । यसपालि कुनै किसिमको धाँधली हुन दिँदैनौं’ –अधिकृत कठायतले भने धुरालसैन मतदान केन्द्रका मतदान अधिकृत ललितकुमार मण्डलले निर्वाचनका लागि पूर्वतयारी सपन्न भइसकेको तथा दलहरूबाट पनि सकरात्मक सहयोग भएको बताए । नेताहरूले प्रतिबद्धता जाहेर गरेसँगै जिल्ला तथा केन्द्रस्तरका नेता कार्यकर्ताहरू यति बेला बूढीगंगामा केन्द्रित छन् । निर्वाचनमा हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहेको यस पालिकामा हरेक मतदानस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहने सुरक्षा निकायले जनाएको छ ।
दशवटै मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका छन् । मंगलबारदेखि उनीहरूले संयुक्त रूपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्तीसमेत शुरू गरेको स्थानीयले बताए ।
स्वतन्त्र र निष्पक्ष गर्न निर्वाचन कार्यमा सघाउन भन्दै बूढीगंगाका सबै विद्यालय बन्द गरिएको शिक्षक मेखराज जैशीले बताए । निर्वाचनकै लागि तीन दिनसम्म बूढीगंगा नगरपालिकाले पनि बिदा दिएको बताइएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बूढीगंगा नगरपालिकामा व्यापक धाँधली भएको थियो । निर्वाचनमा सर्वसाधारणले मतदान गर्न नपाएको भन्दै पुनः निर्वाचन गरिपाऊँ भन्दै पुनरावेदन अदालत दिपायलमा र निर्वाचन आयोगमा रिट निवेदन परेको थियो ।
