काठमाडौँ २१ असार/निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ।निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोग स्रोतले नेपालखबरलाई बतायो।
आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचन मिति घोषणा गर्ने स्रोतले जनाएको छ।आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ।यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो।तर, एकै चरणमा मंसिर २ मा चुनाव गर्न उपयुक्त हुने निष्कर्षमा आयोग पुगेको छ।हिउँद लागेपछि हिमाली भेगमा चुनाव गर्न गाह्रो हुने भन्दै आयोगले यसअघि कात्तिक ३० भित्रै पहिलो चरण र मंसिर पहिलो साता दोस्रो चरणमा चुनाव गर्न सरकारलाई अनौपचारिक सुझाव दिएको थियो।यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन भएको थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो।
प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो। यस पटक पनि देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुने भएको छ।२०७४ सालमा निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम ढिलो दिएका कारण सांसदहरूले फागुन २० गतेदेखि कार्य प्रारम्भ गरेका थिए।
मंसिरमा निर्वाचन भए पनि सांसदहरुले फागुनमा सपथ खाएर कार्य प्रारम्भ गरेका कारण प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्नेमा अन्योल छ। संविधानको धारा ८५ ९१० मा अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ।उपधारा २ मा भनिएको छ, ‘उपधारा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि संकटकालीन अवस्थाको घोषणा वा आदेश लागु रहेको अवस्थामा संघीय ऐन बमोजिम प्रतिनिधिसभाको कार्यकालमा नबढ्ने गरी थप गर्न सकिने छ।’
उपधारा ३ मा उपधारा २ बमोजिम थप गरिएको प्रतिनिधिसभाको कार्यकाल संकटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले ६ महिना पछि स्वतः समाप्त हुने उल्लेख छ। अहिले संकटकालको अवस्था नभएकाले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षमा पूरा हुनेछ। प्रतिनिधिसभाको कार्यकाल पूरा हुन ६ महिना बाँकी रहँदासम्म चुनावको मिति घोषणा गर्न संवैधानिक जटिलता हुने संविधानका जानकारहरु बताउँछन्।