धनगढी, १८ असार/नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठकले बजेटमा भएका त्रुटीहरु संसोधन गरेर संसद चलाउने वातावरण मिलाउन पहल गर्ने बैठकले निर्णय छ ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेको माओवादीको संसदीय दलको शनिबार धनगढीमा बसेको बैठकलाई राजनीतिक बृतमा चासोपुर्ण तरिकाले हेरिएको छ । केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तन गर्ने छलफल चलिरहेको बेला सरकारको नेतृत्व गरिरहेको माओवादीले संसदीय दलको बैठक बसाएको हो । बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरुलाई ह्वीप समेत जारी गरेको छ ।
शनिबार मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको बताईएको छ ।
असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै सत्तारुढ दलकै सांसदहरुले प्रदेशसभा चल्न नदिने चेतावनी दिदै आएका थिए । अहिलेसम्म सांसदहरुको रुष्टताका कारण संसद बैठक समेत बस्न सकेको छैन । तर, बजेट प्रस्तुत भएको दुई साता बढी बितिसक्दा पनि छलफलको टुंगो लागेको छैन । सरकारले मनपरी ढंगले बजेटमा योजना समावेश गरिएको भन्दै मन्त्रीदेखि सत्तारुढ दलका सांसद तथा प्रतिपक्षी सांसद रुष्ट बनेका हुन् । बजेटप्रतिको असन्तुष्टिका कारण प्रदेश सभा बैठक समेत अनिश्चित बनेको छ ।
बैठकले सरकारको नेतृत्व परिवर्तनबारे आइरहेका चर्चा र केन्द्रीय गठबन्धनको चासोबारे बैठकमा सामान्य मात्रै छलफल चलेको बताईएको छ । बैठकमा माओवादीबाट थुप्रै योग्य सांसदहरु मन्त्री बन्न छुटेको विषयमा पनि छलफल चलेको थियो ।
सुदूरपश्चिममा सुरुवादी देखी अहिले सम्मै माओवादी केन्द्रका त्रिलोचन भट्ट नै मुख्यमन्त्री टिकेका छन् । उनलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयले अहिले राजनीतिक समाजमा छलफल समेत चलिरहेको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दाबी गरिरहेको छ । अहिले सुदूरपश्चिम प्रदेश सभामा पनि समाजवादी सबैभन्दा ठूलो दल रहेको छ ।