काठमाडौँ, १ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई अस्पताल भर्ना गरिएको छ।गयराति दाङबाट बुटवल ल्याइएकी उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो।
वली अहिले अस्पतालको क्याबिनमा छिन्। उनमा प्रेसर र सुगर पनि देखिएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए।
राति साढे १२ बजे बेहोस जस्तो अवस्थामा आउनुभएको थियो। उहाँको प्रेसर पनि अल्टर भइरहेको, सुगर पनि धेरै देखिएको छ, उनले भने, राति स्लाइन चलाएपछि रिकभर भयो। भर्ना गरेर अब्जर्भ गर्नुपर्छ भन्यौँ।
बीचमा कपडा लिएर आउँछु भनेर गएको र बिहान फेरि आएर अस्पतालको क्याबिनमा उपचाररत भइरहेको मेसु डा। ढकालले बताए।बेसिक जाँचहरु गरेर पठाएको बताउँदै डाक्टरको सल्लाहमा उपचार अघि बढाउने बताए।
मंगलबार दाङको तुल्सीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा गएर विवाद गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो।
एकराज बस्नेत नभएको बेला उनकी श्रीमती र छोरीलाई हातपात गरेको स्थानीयको आरोप छ। एकराजकी पत्नीले पनि आफू र छोरीलाई वलीले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
विमलालाई एकराजकै घरबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुल्सीपुरमा लगिएको थियो। पछि घोराही लगेर गयराति बुटवल ल्याइएको हो।
वलीविरुद्ध एकराज बस्नेतकी श्रीमती मीना भण्डारीले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा जाहेरी समेत दिएकी थिइन्।जाहेरी तुल्सीपुरमा दर्ता नभई घोराइ पठाइएको थियो। तर मुख्यमन्त्री कुलप्रसाद केसीको दबाबमा उनलाई बुटवल ल्याइएको छ।