काठमाडौं, २५ जेठ । नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० धिरज प्रताप सिंहले अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले १० दिन बिदाका लागि दिएको निवेदन अस्वीकृत गरेका छन् ।
आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका एआईजी पोखरेलले थप १० दिनको बिदाका लागि निवेदन दिएका थिए ।
एआईजी थापाले आफ्ना सहयोगीमार्फत मङ्गलवार १० दिनको बिदाका लागि प्रहरी प्रधान कार्यालयलाई निवेदन पठाएका थिए । उनको बिदा अस्वीकृत भएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए । पोखरेल यसअघि वैशाख १९ गतेदेखि बिदा बसिरहेका छन् । अब बिदा अस्वीकृत भएको जानकारी पोखरेललाई गराइने केसीले बताए ।
सरकारले धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भोलिपल्ट पोखरेलले जेठ २५ गतेसम्मका लागि बिदाको निवेदन दिएका थिए। त्यसयता पोखरेल हेडक्वार्टर गएका छैनन् ।
पोखरेल अब ४५ दिनसम्म गयल भए प्रहरी प्रधान कार्यालयले सूचना निकालेर सम्पर्कमा आउनु भन्ने छ । त्यसभित्र पनि हाजिर नभए पोखरेलमाथि कारबाही हुने बताइएको छ ।
पोखरेलले ज्येष्ठता मिचेर आईजीपी बनाइएको भन्दै वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएर आफूलाई सरकारले अन्याय गरेको दाबी पोखरेलको छ ।
वैशाख २२ गते सर्वोच्च अदालतका न्यायाधीश सुश्मलता माथेमाको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै पोखरेललाई अन्तरिम आदेश दिन अस्वीकार गरे पनि जेठ १७ गते पेशी सार्न नमिल्ने गरी अन्तिम सुनुवाइको मिति तोकेको थियो ।
तर जेठ १७ गते तोकिएको पेशीमा अवकाश पाइसकेका तीन डीआईजीको रिट पनि सँगै हेर्ने निर्णय भएको र विपक्षीलाई म्याद तामेल नभएको भन्दै जेठ ३० गतेका लागि अर्को पेशी तोकिएको थियो। तर आगामी पेशीमा पनि बहस हुने नहुने निश्चित छैन ।
आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै अन्तिम सुनुवाइसम्म बिदा नै बस्ने मनस्थितिमा पोखरेल देखिन्छन् ।पोखरेलले एआईजीमै कायम रहे उमेर हदका कारण आगामी साउन २० गते अनिवार्य अवकाश पाउनेछन् ।
