सर्लाही, १९ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने युवतीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले पदभार ग्रहणको क्रममा बालविवाह रोकेर छोरीहरुलाई शिक्षामा प्रोत्साहन गर्ने निर्णय गरेका हुन्।
प्लस टू उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै बिवाह गर्ने छोरीहरुलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरिएको अध्यक्ष महतोले जानकारी दिए। महतो नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्र
मधेसमा अझै पनि छोरीहरुलाई नपढाउने र उमेरै नपुगी बिवाह गरिदिने क्रम नरोकिएकाले यस्तो निर्णय गरिएको अध्यक्ष महतोले बताए।
‘गाउँपालिकाको यो निर्णयबाट छोरीहरुलाई पढाउने र उमेरै नपुगी विवाह गर्ने परिपाटिको अत्य हुने अपेक्षा गरेका छौँ,’ अध्यक्ष महतोले भने।चन्द्रनगर गाउँपालिकामा अझै पनि ५० प्रतिशत भन्दा बढी किशोरीले उमेरै नपुगी विवाह गर्ने गरेका छन्।