काठमाडौँ, १६ जेठ । नेपाल पत्रकार महासंघले आफ्ना सदस्य रहेका तीन वटै तहका जनप्रतिनिधिहरूको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ। महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले सदस्य रहेका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको हो।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा महासंघका सदस्यता लिएका करिव २०० जना पत्रकारले उम्मेदवारी दिएका र तीमध्ये ८१ जना निर्वाचित भएको पनि महासंघले जनाएको छ। महासंघको यो निर्णयपछि संघीय सांसद रहेका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा देखि अहिले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनी जितेका ८१ जना पत्रकार सम्मको सदस्यता खारेज भएको छ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुन गएकोले विधानको व्यवस्थाअनुसार गर्न गराउन बैठकले केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय पनि गरेको छ। बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि महासंघको विभिन्न तहबाट राजीनामा दिएका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।
यस्तै स्थानीय तहको निर्वाचनमा महासंघका साधारण सदस्यहरूले पनि उम्मेदवारी दिएको हकमा विधानमा व्यवस्था भएअनुसार आचारसंहिता तथा अनुगमन विभागमार्फत प्रक्रिया थाल्ने निर्णय गरिएको महासंघका महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

