काठमाडौँ, ९ जेठ । नेपाल प्रहरीका ५ जना नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त ५ एआईजीमा वरिष्ठताक्रम अनुसार बढुवा गरेको हो।
डीआईजी बढुवा ढिलो हुँदा यी पाँच जनालाई फाइदा
बढुवा सिफारिसमा पर्ने ५ जना डीआईजी आईजीपी धीरजप्रताप सिंहका ब्याची हुन्।डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्।
नेपाल प्रहरीका ३ जना डीआईजीहरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य पछि बढुवा भएका हुन्। सरकारले यसपटक भने वरिष्ठता कायम गर्दै एआईजी बढुवा गरेको हो।
एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्न कार्की र वसन्तकुमार पन्त अनिवार्य अवकासमा गएपछि चार एआईजी रिक्त भएको थियो। धिरजप्रताप सिंह आईजीपीमा बढुवा भएपछि अर्को पनि एआईजी रिक्त भएको थियो।
गत शुक्रबार वसन्तकुमार लामा एआईजीमा बढुवा भए पनि उनी शनिबारदेखि नै अनिवार्य अवकाशमा गएपछि रिक्त एआईजीको संख्या ५ पुगेको हो।
नेपाल प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ। विश्वराज पोख्रेल, सहकुल थापा र रबिन्द्र धानुक कार्यरत छन्। प्राविधिकतर्फ रहेको एउटा दरबन्दीमा आशा सिंह कार्यरत छन्।