धनगढी, ७ जेठ/ नवगठित नागरिक उन्मुक्ति पार्टीले कैलालीस्थित जानकी गाउँपालिकामा विजय प्राप्त गरेको छ । उसको यो चौथो जित हो । यसअघि टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरिसकेको छ ।
जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी सात हजार १५१ मत ल्याई विजयी भएका छन् । चौधरी काँग्रेस माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतौलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै विजयी भए । महत्तौले पाँच हजार २४२ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमतिदेवी कठरिया नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई एक हजार ७०४ मतले पछि पार्दै विजयी भए । कठरियाले छ हजार ५६२ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
एमालेका अध्यक्षका उम्मेदवार टेकबहादुर बमले चार हजार २४६ मत पाउनु भएको छ भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश दहितले चार हजार ५४८ मत पाउनु भएको छ ।
जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले पाँच वडा, नेकपा एमालेले चार वडा जितेको छ । गठबन्धनमा दलहरु नेपाली काँग्रेसले छ वडा सदस्य मात्र जितेको छ ।
को हुन गणेश चौधरी ?
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट जानकी गाउँपालिकाका अध्यक्षका उम्मेदवार गणेश चौधरी बुवा दिबुवा चौधरी र आमा बासमति चौधरीको कोखबाट २०३३ साल फागुन १८ गते जानकी गाउँपालिका वडा नम्बर ३ सुवर्णपुरमा जन्मिएका हुन् ।गाउँकै भृकुटी प्राविबाट प्राथमिक शिक्षा, महेन्द्र शीशु माविबाट निम्न माध्यामिक र वीरेन्द्र विद्या मन्दिर मावि टीकापुरबाट एसएलसी गरेका चौधरी आरआर क्याम्पस काठमाडौंबाट बीए पास गरेका छन् ।
चौधरीले पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार र पत्रकारितामा स्नात्तकोत्तर सम्मको अध्ययन गरेका छन् । २०५६ सालदेखि कैलालीलाई कार्यक्षेत्र बनाई पत्रकारिता सुरु गरेका चौधरी समाचार, लेख, पुस्तक लेखन र नेतृत्वमा सक्रीय छन् ।काठमाडौंबाट पत्रकारिता शुरु गर्नु भएका चौधरीले टीकापुरबाट आफै प्रकाशक÷सम्पादक भएर हाम्रो परिचर्चा साप्ताहिक, अद्र्धसाप्ताहिक, दैनिक रुपमा पाँच वर्ष प्रकाशन गरेका थिए । पछिल्ला २० वर्ष कान्तिपुर दैनिकको सम्वाददाताको रुपमा काम गर्दै आएका थिए। टीकापुरमा समुदायको तर्फबाट स्थापना भएको सामुदायिक रेडियो टीकापुर एफएमको स्थापनाकालमा प्रवन्ध निर्देशक काम समेत गरेका छन् ।
दुई दशक लेखन पेशामै बिताएका चौधरीले वादी, राजी, मुक्त कमैंयाँ जस्ता सिमान्तकृत समुदायका बारेमा समाचार लेखन अध्ययन अनुसन्धान गरेका छन् भने थरुहट आन्दोलन टीकापुर घटनाका विषयमा पुस्तक नै प्रकाशन गरेका छन् ।नेपाल पत्रकार महासंघका विभिन्न पदमा रहेका सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय सदस्य, आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत भई संस्था परिचालन र नेतृत्वको अनुभव छ भने विभिन्न सामाजिक संस्थाका पदमा रही संस्था र संगठन प्रणालीका बारेमा ज्ञान छ ।
पत्रकारिता कर्मको मुल्यांन गर्दै प्रेस काउन्सिलले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार, नेपाल पत्रकार महासंघबाट उमासिह स्मृति पत्रकारिता पुरस्कार, थारु पत्रकार संघले प्रदान गर्ने थारु पत्रकारिता पुरस्कार लगायत थुप्रै संघ संस्थाबाट पुरस्कार प्राप्त भैसकेको छ ।नेकपा माओवादी केन्द्रमा आकर्षित भएपछि थारु मुक्तीमार्चोको जिल्ला उपाध्यक्ष भएर छोटो समय काम गरेपछि स्थानीय तह निर्वाचन २०७९ आउदै गर्दा थारु तथा पछाडि परेको समुदायको हक अधिकारका लागि नागरिक उन्मुक्ति पार्टी गठन भएपछि यही पार्टीबाट जानकी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका छन् । पत्रकारितामा रहेर हमेशा समाजका राम्रा पक्ष र नराम्रा पक्षको निगरानी गरिरहेका चौधरीले राम्रा पक्षलाई आत्मसात गरिरहेको र स्थानीय तहको निर्वाचनमा ७ हजार १५१ मत पाएर निर्वाचित भैसकेपछि नराम्रा पक्षबाट जोगिदै, राम्रा पक्षहरु अंगालेर अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् ।