धनगढी, ५ जेठ/कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन्। गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गर्दै डगौरा विजयी भएका हुन्।थारु ०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचित भएका थिए।
२०७२ सालमा टीकापुरमा भएको घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले श्रीमति रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए।
त्यस्तै टीकापुर नगरपालिकाको उपप्रमुखमा भने गठवन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका उम्मेदवार खडकबहादुर शाह विजयी भए । माओवादी केन्द्रले ०७४ मा जितेका वडा नम्बर ७, ८ र ९ लाई कायम राख्दै यस पटक उपप्रमुखमा पनि विजय हासिल गरेको छ ।
०७४ मा उपप्रमुख मात्रै जितेको नेपाली काग्रेसले वडा नम्बर २, ३ र ६ मा वडाध्यक्षसहित ११ पद जितेको छ ।०७४ सालमा नगरप्रमुखसहित वडा नम्बर १ र २ मा विजय भएको एमाले भने यसवर्ष एउटा वडाध्यक्षमा मात्र सिमित भएको छ । एमालेबाट वडा नम्बर १ को वडाध्यक्षमा मोहन विक निर्वाचित भएका छन् ।
नौ वटा वडा रहेको टीकापुरमा प्रमुख जितेको नागरिक उन्मुक्तिले वडा नम्बर ४ र ५ मा वडाध्यक्षसहित सबै सदस्य, वडा नम्बर १ र ७ मा वडाध्यक्ष वाहेकका सबै सदस्य पदमा विजय हासिल गरेको छ ।