धनगढी, ४ जेठ । रुपन्देहीको सिद्धार्थनगर (भैरहवा) नगरपालिका वडा नम्बर १० मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामचन्दर कोइरीले १ मत मात्र पाएका छन्। सिद्धार्थनगर वडा नम्बर १० मा नेकपा एमालेका उम्मेदवार सुर्जमन अहिर ९यादव० १००१ मतसहित विजयी हुँदा कोइरीले १ मत मात्र ल्याउन सके। अहिरका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयनाथ धोबीले ७२१ मत प्राप्त गरेका छन्।
कोइरीले आफ्ना पारिवारिक मत पनि ल्याउन सकेनन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चन्द्रशेखरप्रसाद पाण्डेले ६५ र जनमत पार्टीका इन्द्रकेश लोहारले २१ मत प्राप्त गरेका छन्। २०७४ स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर–१० को अध्यक्षमा कांग्रेसका विजयनाथ धोबी निर्वाचित भएका थिए। सिद्धार्थनगर नगर प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनबीच तालमेल भए पनि वडा तहमा दलहरू एकल–एकल प्रतिस्पर्धा गरेका थिए।
