काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापती गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसको उम्मेदवारहरूको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका हुन्।
उनले जो–जो व्यक्ति भए पनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार हुने बताउँदै असन्तुष्टि भुलेर पार्टीलाई मत दिनुपर्ने बताए।उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफुहरु लागिरहेको पनि बताए।
‘कांग्रेसलाई पुरातनबाट आधुनिक बनाउन जाँदै गर्दा क्रियाशील सदस्यको व्यवस्थापनको विधिलाई, भातृ संस्थाहरुको व्यवस्थापन गर्नुपर्ने, उम्मेदवार चयन प्रक्रियाको सन्दर्भमा एउटा नविन शैलीलाई निरुपण गर्नुपर्ने, नवीन शैलीलाई अख्तियार गर्नुपर्ने अवस्था छु, उनले भने, हामी केही अप्ठ्यारो बेहोरिरहेका छौँ। त्यसकारण जो उम्मेदवार बन्नुभएको छ, तपाईँले चाहे बमोजिम बन्नुभएको छ। कांग्रेसको उम्मेदवार आफूले चाहेको नहुन पनि सक्छ। कतिपय ठाउँमा प्रक्रिया मिलेन भन्ने भइरहेको छ भने उहाँ पनि कांग्रेसको उम्मेदवार। त्यसैले देशभरका साथीहरुलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन रुख हेर्ने हो। कांग्रेसलाई विजयी बनाउन एकढिक्का भएर लाग्न अपिल गर्छु।