धनगढी, १० वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बेला नेपाल–भारत सीमा नाका २ दिनसम्म बन्द रहने निर्णय भएको छ। शनिवार निर्वाचनलाई लक्षित गर्दै दुवै देशका सुरक्षा अधिकारीबीच कैलालीमा भएको बैठकले उक्त निर्णय गरेको हो।
गृह मन्त्रालयको आदेश अनुसार भारतीय सुरक्षा निकायसँग छलफल गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। उनले चुनावभन्दा ४८ घण्टा अगाडि गौरीफन्टा नाका शिल गर्ने निर्णय गरिएको बताए। यस्तै अत्यावश्यक काम विवाह, दाहसंस्कार, बिरामी रेफर र पेट्रोलियम पदार्थको ओसारपसार भने नरोकिने प्रजिअ थापाले जानकारी दिए।
गोदवारीमा सम्पन्न बैठकमा कैलाली, कञ्चनपुर र भारतको लखिमपुर खिरीको प्रशासन तथा सुरक्षा निकायको सहभागिता रहेको थियो।
