कैलाली,१० वैशाख । धनगढी–६, मटियारीकी भागरथी क्षेत्री दैनिक उपभोग्य सामान किनमेलका लागि अचेल पसल पसल धाउन छाडिसकेकी aछिन् । उनी धनगढीमा रहेका मार्टमा छिर्छिन् र चाहिने घरायसी सामान त्यही मार्टबाट उठाउँछिन् । उनी मात्रै हैनन् अहिले धनगढीमा ठाउँ ठाउँमा मार्टहरु सञ्चालनमा आएपछि यहाँका ग्राहकको रोजाइमा मार्टहरू पर्न थालेका छन् ।
‘घरायसी सामान किन्न पसल पसल धाउनु भन्दा एउटै छानामुनि रहेको मार्टमा छिरेपछि सबै सामान त्यही पाइन्छ,’ उनले भनिन्,‘यस्तो उखरमाउलो गर्मीमा पसल पसल चाहर्नु भन्दा मार्टमै गए सजिलो मात्रै नभई सस्तो र सुलभ सामान पाइने रहेछ ।’ आफू पछिल्लो समयमा सामान किनमेलका लागि मार्टमै जाने गरेको उनले बताइन् । धनगढीमा एकपछि अर्को गर्दै ठाउँ ठाउँमा मार्टहरु खुलेपछि पसल पसल धाइरहनु पर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ ।
भागरथी मात्रै हैन, धनगढीकी सिर्जना जोशी पनि सामान किन्न मार्टमा जाने गरेकी छिन् । मार्टमा एउटै छानामुनि सबै सामान सहजै पाउन सकिने र अन्य ठाउँको तुलनामा सस्तो पनि हुने गरेको उनले बताइन् । ‘अन्य खुद्रा पसलमा गएर सामान किन्दा बार्गेनिङ गर्नु भन्दा एउटै छानामुनि सबै सामान सस्तो दरमै पाइने गरेको छ,’ उनले भनिन्,‘त्यसैले पनि म अचेल सामान किन्न मार्टमै छिर्ने गरेकी छु ।’ मार्टमा ब्राण्डेड सामान पनि पाइने गरेको उनले बताइन् । ‘मार्टमा लोकल सामान नभई ब्राण्डेड सामानहरु पाइने गर्छ,’ उनले भनिन्,‘मूल्य र क्वालिटीका लागि मार्ट नै सहज र विश्वासिलो लाग्ने गरेको छ ।’
बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलाउन धनगढीमा पछिल्लो समयमा एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउन थालेका छन् । एउटै छानामुनि दैनिक उपभोग्य सामानका साथै अन्य घरायसी सामग्रीहरू सहजरुपमा उपलब्ध गराउन पछिल्लो समयमा मार्टहरू सञ्चालनमा आउन थालेपछि ग्राहकको रोजाइमा पनि मार्ट तथा ठूला डिपार्टमेन्ट स्टोर पर्न थालेका छन् । परम्परागत शैलीको व्यापार व्यवसायलाई परिवर्तन गर्दै पछिल्लो समयमा ग्राहकको रोजाई र समय बचत गराउन मार्टहरु सञ्चालनमा आउन थालेका छन् ।
मार्ट सञ्चालनमा आउन थालेपछि यहाँका ग्राहकको रोजाईमा पनि पसल पसल डुलेर सामान किन्नुभन्दा एउटै छानामुनि सबै सामान पाइने मार्ट पर्न थालेका हुन् । धनगढीमा मात्रै ओम ट्रेड सेन्टर, चौलानी डिपार्टमेन्ट स्टोर, चौलानी मार्ट, भूमिराज मार्ट, साथी मार्ट, बिबी मार्ट, हेलो मार्ट सञ्चालनमा आएका छन् । धनगढीको भर्जिन मार्केटलाई लक्षित गर्दै पछिल्लो समयमा काठमाडौंको भाटभटेनीले पनि आफ्नो शाखा सञ्चालनमा ल्याउन भवन निर्माण गरिरहेको छ ।
धनगढी सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र रहेको र यहाँ व्यापार व्यवसायको अथाह सम्भावना रहेको बिबी मार्टका सञ्चालक हरिष चटौत बताउँछन् । ‘धनगढी प्रदेशकै ठूलो सहर भएको छ,’ उनले भने,‘त्यसैले यहाँ मार्ट संस्कृतिको विकास भइसकेको छ ।’ यहाँका ग्राहकले समयको सदूपयोगका साथै सबै सामग्री एउटै छानामुनि खोज्न थालेकाले मार्ट संस्कृतिको विकास धनगढीमा भइसकेकाले मार्टहरु खुल्न थालेको उनी बताउँछन् । ‘यहाँ ठाउँ ठाउँमा मार्टहरु खुल्न थालेका छन्,’ उनले भने,‘मार्ट संस्कृतिको विकास हुनुका साथै समय अभाव तथा व्यस्त जीवनशैलीका कारण मार्ट संस्कृति मौलाउन थालेको छ ।’ एकपछि अर्को गर्दै मार्टहरू खुल्न थालेको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटी बताउँछन् । उनले भने,‘धनगढीका मानिसको व्यस्त जीवनशैली भइरहेकाले पनि उनीहरु दैनिक उपभोग्य सामानका लागि पसल पसल धाउन समय नभएका कारण मार्ट रोजाइमा पर्न थालेको छ ।’ ग्राहकको मार्टप्रतिको रोजाइ र विश्वास पलाउन थालेपछि धनगढीमा मार्ट, डिपर्टमेन्ट स्टोरहरु खुल्न थालेको उनी बताउँछन् । ‘एउटै छानामुनि सस्तोमा सबै सामग्री पाउने भएपछि यहाँका उपभोक्तालाई सामान किन्न बजार डुल्ने समयको बचत हुनुका साथै रिक्सा तथा मोटरसाइकलमा इन्धनको बचत हुन थालेको छ,’ उनले भने,‘त्यसैले पनि मार्टप्रति ग्राहको आकर्षण बढ्दो छ ।’ परम्परागत व्यापार व्यवसायलाई परिमार्जन तथा परिवर्तन गर्दै अहिले यहाँका व्यापारीहरुले पनि मार्ट ‘कन्सेप्ट’ सञ्चालनमा ल्याउन थालेको उनी बताउँछन् ।
