काठमाण्डौ १५ चैत/नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ।मंगलबार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो। बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरुसँग तालमेल गर्ने नितिगत निर्णय सर्वसम्मत् रुपमा गरिएको बताए।
गठबन्धन दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बनाउने प्रवक्ता महतले जानकारी दिए। पार्टी विधानले दिएको अधिकारका आधारमा सम्बन्धित तहले तालमेलको निर्णय गर्ने र पार्टी केन्द्रले आवश्यक निर्देशन र व्यवस्थापन मिलाउने उनले बताए।
केन्द्रीय समिति बैठकले २०७८ फागुन ३० गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरुलाई अनुमोदन समेत गरेको छ। त्यस्तै, नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ।
कांग्रेसले पार्टी उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ। समिति सदस्यहरु भने सभापति देउवाले आवश्यक परामर्श लिई पूर्णता दिने जनाइएको छ। त्यसैगरी प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समितिको गठन गरेको बताइएको छ।
बैठकले प्रदेश सभाका सदस्य र प्रदेश मन्त्रिपरिषद् सदस्यले सम्बन्धित प्रदेश सभा संसदीय दल मार्फत आफूले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशत रकम २०७९ वैशाख १ गतेदेखि प्रदेश सभा संसदीय दलले पार्टीको सम्बन्धित प्रदेश कार्य समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय पनि गरेको छ।
