धनगढी १५ चैत/सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकार पुर्ण रुपमा गैरजिम्मेबार भएको आरोप लगाएका छन् ।
सोमबार सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आफ्नो धारणा राख्दै डा. रावलले सरकार पुर्ण रुपमा असफल भैसकेको बताए । कामको त कुरै नगरौ सरकार आफ्ना काममा पनि सुस्त भएको आरोप लगाएका छन् ।
‘सरकारले जनअपेक्षाअनुसार काम कुनै पनि गर्न सकेको छै’ डा. रावलले भने–‘ सरकारले विगतमा ल्याएको र बजेटसमेत विनियोजन गरेको जलविद्युत बोर्ड र लगानी बोर्ड स्थापना, सूचना प्रविधि पार्क स्थापना, खाद्य संस्थान र सुपथ मूल्य पसल सञ्चालनजस्ता योजना अलपत्र छन् ।’ उनले भने प्रतिपक्षीसँग कुनै सहकार्य र समन्वय नगरी सरकार गैरजिम्मेवार तरिकाले सरकार चलिरहेको छ ।
संघमा पाँच दलीय गठबन्धन रहे पनि सुदूरपश्चिम प्रदेशमा आफूहरुलाई सरकारले उपेक्षा गरेको गुनासो पनि उनको गुनासो छ । ‘केन्द्रमा पाँच दलिय गठबन्धन हुने तर प्रदेशमा पूर्णतया दुई दलीय गठबन्धनको मनोमानी हुने र सरकार स्वेच्छाचारी रुपमा चल्ने गम्भीर आपत्तिको विषय छ ।’ उनले भने, विकास समितिलगायतमा मनपरी नियुक्ति गरिएको छ । सानो तिनो नियुक्तिमा पनि प्रतिपक्षलाई सोध्दैन ।’ आफूहरुले सहमति र सहकार्यमा जोड दिए पनि सरकारले अन्य दलसँग समन्वय नगरेको उनले बताए ।