काठमाडौँ, १४ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा दुईथरी मत देखिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।
कांग्रेसको केन्द्रीय कार्यालय (सानेपा) मा शुक्रबार सुरु बैठक आज तेस्रो दिन पनि जारी रहेको हो। शनिबार एक दिन विश्रामपछि कांग्रेस बैठक आइतबार र सोमबार लगातार बसेको हो।बैठकमा पदाधिकारी र वरिष्ठ केन्द्रीय पदाधिकारीले चुनावमा गठबन्धन कायम गर्ने वा नगर्ने भन्ने विषयमा आआफ्ना धारणा प्रस्तुत गरिरहेका छन्।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निवार्चनमा सत्ता गठबन्धनका दलबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्नेछ।
शुक्रबार र आइतबारका बैठकमा चुनावी अभियानका लागि ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले आआफ्ना जिल्लाका वस्तुगत अवस्थाको रिपोर्टिङ गरिरहेका छन्।
चुनावमा पनि सत्ता गठबन्धनका दलबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसभित्र दुईथरी मत देखिएको छ। तालमेल गर्नुपर्ने तर त्यसको अधिकार स्थानीय तहले नै पाउनुपर्ने, केन्द्रबाट लाद्न नहुनेमा धेरैले धारणा राखेका छन्।
आइतबारको बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरू— एनपी साउद, जीवनबहादुर शाही, दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा.डिला संग्रौला, सरिता प्रसाईं, अमृत अर्याल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, ध्रुव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशमशेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुनजंगबहादुर सिंह, राजीवविक्रम शाह, डा. चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बाँस्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल (आचार्य), रूपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले धारणा राखेका छन्।
त्यसअघि पहिलो दिन शुक्रबार केन्द्रीय सदस्यहरू— कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना र शान्ति परियारले धारणा राखे। यसैगरी त्यस दिन प्रदेश सभापतिहरू— उद्धव थापा (प्रदेश नं. १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले गठबन्धनका विषयमा आआफ्ना विचार राखेका थिए।
