काठमाडौँ, १ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसालविरुद्ध कटाक्ष गरेका छन्। भुसालले एक राष्ट्रिय दैनिक पत्रिकामा ‘कम्युनिस्टको भविष्य स् एकता वा सत्यानाश’ शीर्षकमा लेख लेखेपछि अध्यक्ष ओलीले खण्डन गरेका हुन्।
भुसालले लेखमार्फत स्थानीय तहको चुनावमा कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्ने अन्यथा भविष्य नरहेको तर्क गरेका छन्।
लेखमा भुसालले भनेका छन्, ‘गठबन्धन भत्काउने धन्दामा एमालेले कांग्रेसलाई धेरै सहुलियत दिएर प्रचण्ड–माधवलाई अहिले नै ‘सडकमा ल्याउन’ पनि सक्छ वा, कांग्रेसले प्रचण्ड–माधवलाई अझ बढी सहुलियत दिएर एमालेलाई ‘साइज’ मा ल्याउन पनि सक्छ। यी सबै अवस्थामा नेपाली कांग्रेस सुरक्षित हुनेछ तर कम्युनिस्ट पार्टी भने सत्यानाशको डिलमा पुग्नेछ।’
यही कुरा ओलीलाई मन नपरेको हो। मंगलबार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले भुसालको नाम नलिईकन आक्रोश पोखेका हुन्।
‘नेकपा एमालेका बारेमा कम्युनिस्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजीवी त्यसामा कोही कम्युनिस्टको खोल ओढेका पनि हुन्छन्, उनीहरूले लेख्छन् र निरास बनाइदिन्छन्’, ओलीले भने, ‘हिजो मात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए, किन बहिष्कार गर्ने भन्दा कहीँ नजित्ने भए। अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे१ एउटा बुद्धिजीवीलाई त्यस्तो लागेछ।’
एक्लै चुनाव लड्दा पनि एमालेले ६० प्रतिशत सिट जित्ने दाबी गर्दै ओलीले थपे, ‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाईरु एमालेलाई भनेको हो भने यस्तो जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु। झण्डै दुईतिहाइको हैसियतमा रहेको कम्युनिस्ट पार्टीलाई फुटाउने कम्युनिस्ट हुन्छरु आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने, अन्त गएर भोट हाल्ने१ पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने१ यस्तालाई कम्युनिस्ट मानेर एमालेले मिलिदिनुपर्नेरु’
भुसालले पनि अप्रत्यक्ष रूपमा लेखमार्फत ओलीको आलोचना गरेका छन्। लेखको अन्त्यमा उनले लेखेका छन्, ‘अनेकौं नालायकीका बाबजुद आज नेपालका कम्युनिस्टहरूका अगाडि गुमाउन केवल केही नेताको निजी अहंकार छ भने पाउनका लागि कम्युनिस्ट एकता छ, समाजवादी भविष्य छ।’