धनगढी,१३ असोज ।
सुदूरपश्चिम प्रदेश सभामा दुई पार्टीले सांकेतिक रुपमा विरोध जनाएका छन् । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट तथा कार्यक्रमका विषयलाई लिएर नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले विरोध गरेका हुन्।
सुदूरपश्चिम प्रदेशको आठौं अधिवेशनको २६ औँ बैठक मंगलबार बसेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुको भने सहभागी रहेनन्।
कार्यपरामर्श समितिको बैठकबाट सो बैठकमा लोसपाका प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीको विधेयकमाथिको सामान्य छलफलमा भाग लिने कार्यसूची तयारी थियो । तर, सभामुखले उनलाई दुई पटक बोलाउँदा अनुपस्थित देखेपछि कार्यसूचि अनुसार अघि बढाए ।
‘सरकार र प्रतिपक्षी दलहरुबिच चालु आर्थिक वर्षमा रातो कितावमा समेट्ने सहमति भएको थियो’ नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले भने –‘सरकारले जारी गरेको रातो कितावमा हाम्रा कार्यक्रम परेको देखेन ।’ उनले सांकेतिक रुपमा प्रदेश सभामा विरोध जनाएको बताए ।
प्रत्येक वर्ष रातो कितावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले विरोध गर्दै आइरहेका छन । आर्थिक वर्ष २०७४÷७५ बजेट, नीति तथा कार्यक्रममा विरोध नगरेका उनीहरुले आर्थिक वर्ष २०७५÷७६ मा सदनबाहिर रातो किताव जलाएका थिए ।
सरकार र सत्तापक्षबिच योजनामा भागवण्डा नमिल्दा बजेट र रातो कितावप्रति विरोध हुने गरेको छ ।
असार १४ गते चालु आर्थिक वर्षको बजेट बहुमतले पारित भएको थियो । प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले ओली पक्षका प्रदेश सभा सदस्यहरुको विरोधका बिच बजेट बहुमतले पारित भएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका थिए ।