काठमाडौँ, ९ असोज । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नगर र गाउँपालिका अधिवेशनले जनताको मन जित्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा व्यक्त गरेका छन्।
शनिबारदेखि कांग्रेसका स्थानीय तहस्तरको अधिवेशन सुरु भएको सन्दर्भमा देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुनसमेत आग्रह गरेका छन्।
‘तपाईंहरुको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ। जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन्।
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार वडा तहको अधिवेशन भइसकेका जिल्लामा गाउँ तथा नगरपालिकाको अधिवेशन हुँदैछ। कांग्रेसले १३ जिल्लामा भने क्रियाशील सदस्यताकै टुंगो लगाउन सकेको छैन।
