धनगढी, २३ भदौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको प्रवेश राजनीतिमा भएको छ। उमेरले २६ वर्ष पुगेका उनको नाम क्रियाशील सदस्य सूचीमा अटाएको छ।
बुवाकै जन्मस्थान गन्यापुरा गाउँपालिका–वडा नम्बर १ असिग्रामबाट जयविरको क्रियाशील सदस्यता रहेको छ। उक्त वडा प्रदेश सभा क्षेत्र ९ख० मा पर्छ। उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरसिंहको नाम छ।
जयवीरलाई सातौं जिल्ला अधिवेसनबाट क्षेत्रीय प्रतिनिधि पठाउनेबारे छलफल भइरहेको वडा नम्बर १ वडा अध्यक्ष चेतराज भट्टले बताए। वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भए भने जयवीरसिंह यसपालि महाधिवेशन प्रतिनिधि आउने सम्भावना रहन्छ।
क्रियाशील सदस्य बनेसँगै जयवीर सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ। जयवीरले बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका छन्।
