धनगढी,७ भदौ । टीकापुर घटनाको ६ वर्ष पुगेको दिन आज थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको हो।टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग गर्दै उनिहरुले प्रर्दशन गरेका हुन् ।
भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको मोर्चाले भल्का चौकदेखि बलिया चौकसम्म विरोध ¥यालीसहित प्रदर्शन गरेको हो। टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित निलम्बित सांसद रेशम चौधरीसहित राजबन्दीहरुलाई विना सर्त रिहाइ गरिनुपर्ने, राज्यको हरेक निकायमा थारु समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शन गरिएको हो।
२०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरिक्षक ९एसएसपी० लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द रहेका थिए ।
यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको समेत सो घटनामा मृत्यु भएको थियो ।यसैगरी, हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो । उनी सहायक हबल्दार नेत्र साउदको छोरा हुन् ।