धनगढी, ५ भदौ । सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनविपरीत संघीय राजधानी काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको खुलासा भएको छ।
महालेखा परीक्षकको वार्षीक प्रतिवेदनले सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको खुलासा गरेको हो।
‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्य क्षेत्र बाहिर काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरी कार्यालयको बजेटबाट टेलिभिजन, कम्प्युटर, फर्निचर खरिद र कार्यालय मर्मत तथा रंगरोगनमा ६ लाख ८५ हजार खर्च भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कानूनी व्यवस्था र नीतिगत निर्णय बेगर काठमाडौँमा समेत कार्यालय स्थापना गरी खर्च गर्नु औचित्यपूर्ण देखिएन।’
प्रदेश सरकारले शासन व्यवस्था सञ्चालन तथा संघीय सरकारसँग कुनै पनि विषयमा समन्वय गर्नका लागि प्रदेश प्रमुखको व्यवस्था गरिएको छ। त्यसकारण पनि कार्य क्षेत्र बाहिर सम्पर्क कार्यालय स्थापना गर्नु कानुनविपरीत भएको जानकारहरु बताउँछन्।