धनगढी, २ भदौ । माधव नेपाल समूहले नेकपा एमाले छोडेर छुट्टै दल दर्ता गर्ने प्रकृया अघि बढाएपछि नेपालका अत्यन्त निकट रहेका भीम रावलले उनको साथ छाडेका छन् ।
ट्वीट मार्फत दल बिभाजन सम्बन्धि अध्यादेशको बिरोध गरेका नेता रावलले अन्ततः नेपालको साड छाडे । माधव नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी गठन भएपछि रावलले साथ छाडेका हुन् । रावलसंगै झपट बहादुर रावलले पनि नेपाल समूह छोडेका छन् ।
केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेमा अव सुदूर पश्चिमबाट प्रतिनिधि सभा सदस्य भीम रावल, झपट रावल, लाल बहादुर थापा, भैरव बहादुर सिंह, गणेश ठगुन्ना, यज्ञ बोगटी, आशा बिक, नर बहादुर धामी, दामोदर भण्डारी, नारद मुनी राना, निरुदेवी पाल रहेका छन् ।
अन्तिममा दीपक प्रकाश भट्टले पनि माधव नेपालको साथ छोडेका छन् । उनी अहिलेसम्म तटस्थ थिए । माधव नेपाल पक्षमा भने सुदूर पश्चिमबाट प्रदेश सभा सदस्य प्रेम आले, निरा जैरु, बिना बुढाथोकी र लक्ष्मी चौधरी देखिएकी छन् ।
स्रोतका अनुसार सुदूर पश्चिमबाट प्रतिनिधि सभामा रहेका नेकपाका १६ जना मध्ये १२ जना खुलेर केपी ओली पक्षमा देखिएका छन् । चार जनाले माधव समूहलाई साथ दिएका छन् ।