धनगढी, फागुन २२/नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको उनले बताए। र, दाहालले कुहिएको अण्डा एकदमै गन्हाउने र त्यसलाई गाडिन्छ या जलाइन्छ भने।
‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ। हामी स्वस्थवर्दक जीवनशील तत्व हो,’ दाहालले भने।
विप्लवसँग असन्तुष्ट कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै दाहालले शनिबार यस्तो बताएका हुन्। दाहालले कुहिएको बिग्रेका कम्युनिष्ट आन्दोलनहरूको बारेमा माउत्सेतुङले गरेको व्याख्या विश्लेषण सम्झाए।
‘एकचोटि माउत्सेतुङले बिग्रेका कम्युनिष्टहरू बारेमा भन्दा सरल उदाहरण दिएको थियो। अण्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ। धेरै चिज प्राप्त हुन्छ। तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन,’ दाहालले भने, ‘कम्युनिष्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो केही पनि हुँदैन। अहिले केपी ओली कुहिएको अण्डा हो।’
दाहालले कम्युनिष्ट आन्दोलन एउटा वैज्ञानिक आन्दोलन भएको भन्दै यो कुनै रुढीवादी कूसंस्कृतिको आन्दोलन नभएको बताए।