धनगढी,२१ फागुन/ प्रधानमन्त्री केपी ओली र हिंसात्मक गतिविधिमा लागेका विप्लवबीच तामझामसहित भएको सहमति लगत्तै कांग्रेसले प्रश्न उठाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक सञ्जालमा पोष्ट गर्दै हिंसात्मक गतिविधिमा लागेकासँग सहमति गर्दा हतियारबारे उक्त सहमति किन नबोलेको भन्दै सरकार र विप्लवको आलोचना गरेका छन् ।
शर्माले प्रचण्डसहित तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउँदा माओवादीहरूले भनेको हतियार खोलाले बगाए भन्ने कुरालाई उप्काउँदै शर्माले सरकार र विप्लवबीच भएको तीन बुँदे सहमतिमा हतियार सम्बन्धी चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका हुन् ।
प्रवक्ता शर्माले सरकार र विप्लवबीच भएको सहमतिलाई स्वागत भनेका छन् । तर, २०२८ मा केपी–सिपी, ०५२ मा प्रचण्ड–बाबुराम र अहिले विप्लव–प्रकाण्ड लाई रेड बुकको संज्ञा दिदै नाम र काम उस्तै, परिणाम पनि उस्तै भनेर व्यङ्ग्य गरेका छन् ।
शर्माले नेपालको सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई आजको समयमा आफनो एउटा मात्र प्रश्न रहेको भन्दै अब दर्शनको नाममा मान्छे मारिने छैनन् भनेर किन उद्घोष नभएकोमा आलोचना गरेका छन् ।