धनगढी १८ फागुन/ सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले अपराधिक घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको बताएका छन। मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै डीआईजी सुवेदीले हालसम्मको तथ्याङकलाई हेर्दा ८० प्रतिशत अपराधिक घटना आफन्तबाटै भएको हुने गरेको बताए।
अपराधमा बढी जसो बालबालिका संलग्न हुने गरेको भन्दै सुवेदीले बालबालिकाहरुमा नैतिक शिक्षाको अभाव भएका कारण पनि समाजमा अपराधिक क्रियाकलाप हुने गरेको बताए। पछिल्लो समयमा सामाजिक संजाल र प्रविधिको अधिकतम प्रयोगले किशोरकिशोरीहरु अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाईएको उनको भनाई थियो।
अभिभावकहरु संग आफ्नो सन्तानलाई नैतिक शिक्षा दिने र सहि मार्गनिर्देश गर्ने समय छैन , डिआईजी सुवेदीले भने, ‘बालबालिकाहरुमाथी अभिभावकको निगरानी नहुँदा उनीहरु कलिलो उमेरमै अपराधको जालोमा फस्दै गएका छन। यस्ता अपराधिक क्रियाकलापमा सबै भन्दा बढी १६ बर्ष देखि २५ बर्ष उमेर समुहका बालबालिकाहरु रहेका छन।’
