धनगढी, ११ भदौ/ प्रायः महिलाहरु घरभित्रै कैद थिए। उनीहरुले तीज मनाउन बाहिर निस्किन पाएका थिएनन्। कोही कोहीले भने टोलमै एक अर्काको घरमा नाचगान गरिरहेकै थिए।
तीज आउनु केही दिनअघि कागेश्वरी मनोहरा नगरपालिकाको सयपत्री टोलकी एक महिलामा सामान्य ज्वरो र हल्का खोकीको समस्या देखियो। उनी आत्तिइन। उनलाई कोरोना संक्रमणको संका लागिसकेको थियो। तै पनि घरमै एकिन हुने कुरै भएन।
उनी भदौ १ गते डराउँदै मूलपानीस्थित स्वास्थ्य केन्द्रमा पुगिन र स्वाब दिएर फर्किइन्। घर फर्केपछि ती महिलाले खासै सचेतना अपनाइनन्। यहीबीच उनले भदौ ४ गते आफ्नै घरमा तीजको दर खाने कार्यक्रम राखिन्। उनले आफ्नो टोलका सबै महिलालाई निम्तो दिइन।
दर खाने कार्यक्रममा टोलका झण्डै ४० महिला सहभागी भए। दिनभर ती महिलाको घरमा नाचगान चल्यो। उनीहरुले निकै रमाइलो गरे। तीजको दर खुवाएको भोलिपल्ट भदौ ५ गते ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आयो।
दर खाने कार्यक्रम आयोजना गर्ने महिला कोरोनाबाट संक्रमित भएको खबर पुरै टोलभरी फैलियो। पुरै वडामा त्रास फैलियो। उनको सम्पर्कमा आएका सबैलाई वडाले स्वाब परीक्षणका लागि बोलायो।
मूलपानी स्वास्थ्य केन्द्रका अनुसार ती महिलाको छोरामा पनि कोरोना संक्रमण देखिएको छ। परिवारका अन्यमा भने कोरोना देखिएन। दर खुवाउने महिलाको सम्पर्कमा आएका अन्यको पीसीआर रिपोर्ट आउन बाँकी रहेको कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले बताए।
हाल उक्त टोललाई मात्र होइन खहरे चोकदेखि वीरेन्द्र चोकसम्म नै सिल गरिएको छ। वडाका सबै जना रिपोर्टको पर्खाइमा छन्। कागेश्वरी मनोहरा नगरपालिकामा हालसम्म ९६ जनामा कोरोना देखिएको छ।
सुरुआतमा सो क्षेत्रमा सैलुनबाट कोरोना फैलिएको हो। सुरुमा एक सैलुन सञ्चालकमा कोरोना संक्रमण देखिएको थियो। तराईतिरबाट आएका उनी पीसीआर परीक्षण नगरी बसेका थिए।
त्यही सैलुनबाट धेरैलाई कोरोना लागेको स्थानीयवासी बताउँछन्। कागेश्वरी मनोहरा वडा नं ९ मा खहरे चोकदेखि वीरेन्द्र चोकसम्ममा ४८ जनामा कोरोना देखिएको छ।
संक्रमित बढ्दै गएपछि काठमाडौं महानगरपालिका ३२ को सिमानादेखि वीरेन्द्रचोकसम्म आवतजावत निषेध गरिएको नगरप्रमुख थापाले बताए। वडा नं ६ को मूलपानीस्थित नगर अस्पतालमा हाल नगरबासीको कोरोना परीक्षण गरिँदै आएको छ।
हालसम्म झण्डै तीन हजार जनाको पीसीआर परीक्षण गरिएको बताइएको छ।