धनगढी, १० चैत- आवतजावत रोकिएकाले अन्तराष्ट्रिय सीमा नाकामा अलपत्र परेका नेपालीहरुलाई सरकारले आउन दिने भएको छ। अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउने दिन निर्देशन दिइएको छ।
अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ। सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो।
उनीहरुको सबै विवरण लिने र १४ दिन होम क्वारेन्टाइनमा बस्न भनिनेछ। र, क्वारेन्टाइनमा बसेका वेला उनीहरू सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको निगरानीमा हुने बताइएको छ।
यसअघि पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतबाट स्वदेश फर्किरहेका झण्डै तीन सय ५० जना रोकिएका थिए। आज बिहान पनि पश्चिमी सीमा नाका गड्डाचौकी भएर सयौँ नेपाली फर्किसकेका थिए।
यता गौरीफन्टा नाकामा अलपत्र परेका नेपालीलाई पनि प्रवेश अनुमती दिईएको थियो। उनीहरु झण्डै तीन घण्टा सम्म नाकामा अलपत्र परेका थिए।