भारतको राजस्थान स्थित झुंझनूं जिल्लामा रहेकमो सागवा गाउँमा अनौठो घटना भएको छ।प्रेम सम्बन्धमा बाधक बनेकी सासु सुबोधलाई बुहारी अल्पना जांगिडले प्रेमी मनीष मीणासँग मिलेर जयपुरबाट सर्प मगाएर डसाईन।
घटना भएको सात महिनापछि प्रहरीले यसको खुलासा गर्दै बुहारी अल्पना, प्रेमी मनीष र उसको साथी कृष्ण कुमारलाई पक्राउ गरेको छ। अल्पनाका पति, देवर र ससुरा टाढा जागिर गर्छन्। देउरानी माइतमै बस्ने गर्थिन। घरमा सासु र बुहारी मात्र बस्छन।
बुहारीले फोनमा लामो समयसम्म कसैसँग कुरा गर्ने गरेपछि सासुलाई शंका लाग्यो। शंका लागेपछि उनले सोधखोज गर्न थालिन। प्रेम सम्बन्धमा सासुले अवरोध गर्छिन् भन्ने लागेपछि अल्पनाले प्रेमीसँग मिलेर हत्या योजना बनाइन। अनि जयपुरबाट सर्प मगाइन।
सर्प मगाएर उनले गत जुन महिनामा सुतिरहेकी सासुतिर सर्प पठाइन। सर्पले टोकेपछि सासुको मृत्यु भयो। कसैले शंका गर्न सकेन र सासु सुबोधको अन्तिम संस्कार गरियो। त्यसपछि अल्पनालाई हेरविचार गर्नू भनी पतिले आफ्नी भाइबुहारीलाई अह्राए। अल्पनाले लगातार कसैसँग फोनमा कुरा गरेको देउरानीले थाहा पाएर शंका गर्न थालिन।
अनि अल्पनाको कुराकानीबाट उनैले सासुलाई सर्पले डसाएर मारेको पत्ता लाग्यो। त्यसपछि अल्पनाविरुद्ध प्रहरीसमक्ष उजुरी हालियो।
प्रहरीले कल डिटेल मगाएपछि अल्पना र मनीषबीच जुन २ मा १२४ पटक कुराकानी भएको पाइयो। अनि एसएमएस पनि गरेको पाइयो। मनीषका साथी कृष्णसँग पनि अल्पनाले १९ पटक फोन गरेको पाइयो। प्रहरीले अनुसन्धान गरेर आरोपितहरूलाई कडा सोधपुछ गरेपछि सबै पोल खुल्यो। एजेन्सी
