कञ्चनपुर,२४ पुस ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका–१२ स्थित ओदालीको महाकाली नदीमाथि निर्माणाधीन ४ लेनको पक्की पुल निर्माणकार्य ३७ प्रतिशत सकिएको छ ।
महाकाली पुल आयोजनाले भौतिक प्रगतिसँगै पुल निर्माणकार्य तीव्र गतिमा अघि बढिरहेको जनाएको छ । योजनाले यसै आर्थिक वर्षमै राजमार्गसम्मको ६ लेनको पहुँच मार्गलाई समेत कालोपत्रे गरेर सक्ने योजना बनाएको छ । आर्थिक वर्ष ०७४÷७५ मा काम सुरु गरेको आयोजनाले हालसम्म भौतिक प्रगति सन्तोसजनक नै रहेका योजना प्रमुख खड्कलाल श्रेष्ठले बताए ।
योजना प्रमुख श्रेष्ठले भने, “जग फाउन्डेसन लगायत छत ढलानको काम पनि सँगसँगै भइरहेको छ । पुलदेखि महेन्द्रराजमार्ग जोड्ने ६ लेनको बाटोमा मुआब्जा वितरणको कार्यसमेत सकिएको उनले बताए । “महाकाली नदीको पारिपट्टिको मुआब्जाको काम अन्तिम चरणमा पुगेको छ,” प्रमुख श्रेष्ठले भने, “कञ्चनपुर भन्सार कार्यालयको ५० मिटर क्षेत्र खाली नहुँदा सो क्षेत्रमा काम सुरु गरेको अवस्था छैन ।” कञ्चनपुर भन्सार कार्यालयको ५० मिटर क्षेत्र खाली गर्न भनेर पत्रचार हुँदासमेत खाली हुन सकेको छैन ।

साथै पुलदेखि राजमार्गसम्म जोड्ने ६ लेनको बाटो निर्माणका लागि नाली बनाई भुजेलादेखि ओदालीसम्म ६ लेनको बाटो निर्माण भइरहेको योजना प्रमुख श्रेष्ठले बताए । “अहिले पुलको पिल्लर हाल्ने, ढलान गर्ने, स्लाब राख्ने र ६ लेनको पहुँच मार्गमा नाली बनाई सकेर ६ लेनको बाटो निर्माण गर्ने काम भइरहेको छ,” प्रमुख श्रेष्ठले भने, “सो बाटोलाई यसै आर्थिक वर्षमा कालोपत्रे गरिसक्ने योजनामा काम गरिरहेका छौं ।”
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको ०७४÷७५ भदौमा पुलको शिलान्यास गरेका थिए । यस्तै पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले पुलको पिल्लर बनाउने, स्लाब राख्ने र राजमार्ग जोड्ने ६ लेनको सडक निर्माणकार्य गरिरहेको छ । पुल योजनाले अहिले पुलको मुख्य र सहायक पिल्लरहरू बनाउने कार्य गरिरहेको छ । “तटबन्ध निर्माणकार्यलाई समेत अघि बढाएका छौं, घाडिँघाच क्षेत्रबाट ठूलो ढुंगा खोज्ने तथा ढुवानी गर्ने कामलाई समेत तीव्रता दिएका छौं,” प्रमुख श्रेष्ठले भने ।
यसैगरी हिउँदमा कामले गति लिने गरेको महाकाली पानीको ठेगान नहुँदा काम गर्न समस्या हुने गरेको इन्जिनियर किशोरराज पाण्डेयले बताए । “बिहानको समयमा काम चलिरहेको हुन्छ,” इन्जिनियर पाण्डेयले भने, “भारतीय पक्षले उत्तरतिर रहेको शारदा ब्यारेजबाट एकलौटी ढंगले पानी छोड्दा काम नै प्रभावित हुन्छ ।”
कम्पनीले हालसम्म २० वटा पिल्लर निर्माण गरिसकेको छ भने थप पुल निर्माणकार्य समेत तीव्र गतिमा अघि बढेको इन्जिनियर पाण्डेयले बताए । आयोजनाले हालसम्म पुल निर्माणका क्रममा ८७ करोड, मुआब्जा वितरणमा २ करोड र चालू खर्च ७७ लाख रुपैयाँ खर्च भएको छ । ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा पुल निर्माणको सम्झौता भएको थियो ।

महाकाली पुलको निर्माण अवधि ३ वर्ष तोकिएकोमा हाल एक वर्ष थप गरिएको छ । सम्झौताअनुसार पुल निर्माणकार्य वि।सं २०७७ भदौमा सम्पन्न हुने भनिए पनि सरकारका काम कारबाही तथा अन्य कामले ढिलाइ भएकोमा निर्माण अवधि एक वर्ष थप गरेर २०७८ जेठ १९ गते समयसीमा तोकिएको निर्माण कम्पनीले जनाएको छ । नयाँ सम्झौताअनुसार पुल निर्माणकार्य २०७८ जेठमा सकिने योजना प्रमुख श्रेष्ठले बताए ।
