धनगढी– मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा बुधवार रातीदेखि फेरी हिमपात सुरु भएको छ। बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। अनारखोली क्षेत्रमा भएको भारी हिमपातपछि डडेल्धुरा– बैतडी दशरथचन्द राजमार्ग समेत अवरुद्ध भएको छ।
डडेल्धुराको सदरमुकाम सहित विभिन्न क्षेत्रमा हिमपात भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको उनले बताए। हिमपातपछि हगुल्टे क्षेत्रमा भीमदत्त राजमार्ग नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए।
यस्तै दार्चुलाको उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्करलगायतका ठाउँमा हिमपात भएको छ। डोटी जिल्लाका विभिन्न क्षेत्रमा पनि हिमपात जारी रहेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक वहादुर खड्काले बताए। हिमपात भएसँगै पहाडी जिल्लामा चिसोका कारण जनजीवन प्रभावित भएको छ।
हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। यो समयमा बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दम, श्वासप्रश्वाससम्बन्धी रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मीले जोड दिएका छन्।