पत्रपत्रिकाबाट
काठमाडौँ उपत्यकाबाट आज प्रकाशित मुख्य दैनिक पत्रिकाले द्वन्द्वकालमा भएका गैरन्यायिक हत्याका दोषीउपर कारबाही माग, प्रदेशले आफ्नै नाम र राजधानी तोक्न नसकेको निर्णयविहीनताको अवस्थासहित विविध विषयमा सम्पादकीय लेखेका छन् ।
आजको नागरिक दैनिकले म्यानमार९बर्मा०की चर्चित नेत्री आन सान सुकी अन्ततः अन्तर्राष्ट्रिय अदालतमा उभिएर तीन घण्टा बयान दिएको प्रशङ्गलाई जोडेर नेपालको शान्ति प्रक्रियामा न्याय नपाएकाहरुको मुद्दाका विषय उजागर गर्दै ‘न्यायको आशा’ शीर्षकमा आज सम्पादकीय लेखेको छ । ‘तत्कालिन विद्रोही र राज्यपक्षबाट भएका मानवताविरुद्धका युद्ध अपराधमा उन्मुक्ति दिन नहुने सन्दर्भ समाप्त भएको छैन,’ सम्पादकीयमा भनिएको छ, ‘मुलुकभित्र सत्ताका बलमा दबाउन सकिएला, तर अन्तर्राष्ट्रिय समुदाय र मञ्चमा जीवितै रहन्छ भन्ने उदाहरण रोहिंग्या मुद्दा होइन, अन्य मुद्दाहरु नियाल्दा हुन्छ, घाउ निको हुन जति ढिलाइ हुन्छ उति नै जटिलता थपिनेछ ।’
कान्तिपुर दैनिकले संविधानप्रदत्त कतिपय अधिकार क्षेत्रका विषयमा संघसित छिनाझम्टी गरिरहेका प्रदेश आफ्नै नाम र राजधानी तोक्ने विषयमा भने निर्णयविहीनताको बन्दै बनिरहेको उल्लेख गरेको छ । प्रदेशसभा र प्रदेश सरकार गठन भएको दुई वर्षमा पनि आधाजसो प्रदेशले नाम र राजधानी टुङ्ग्याउन नसक्नुले जनमानस र संघीय अभ्यासप्रति सही सन्देश नगएको उल्लेख गर्दै उसले ‘नाम र राजधानीमा सकस’ शीर्षकमा सम्पादकीय छ । प्रदेशहरुको निर्णयविहीनताले दलको केन्द्रीय नेतृत्वको निर्देशन÷हस्तक्षेप पर्खिबसेको जस्तो देखिएको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ– यदी त्यसो हो भने शिशु संघीयताका लागि राम्रो होइन ।
विश्व पुँजीवादमा बढ्दो प्रणालीगत संकटका कारण पछिल्लो समय उदारवादी व्यवस्था आफैँमा संकटग्रस्त बन्दै गएको उल्लेख गर्दै आजको नयाँ पत्रिकाले ‘उदारवादका समस्या’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘संसारको ठूलो लोकतन्त्र दावी गर्ने मुलुकको सत्ताका दृष्टिकोणमा आएको परिवर्तन उदारवाद र समाजवाद दुवैका लागि घातक त छ नै, यसले विश्वर जात, धर्म या राष्ट्रियताका आधारमा समाजलाई ध्रवीकरण गर्ने खतरा रहन्छ,’ सम्पादकीयमा भनिएको छ, ‘हाम्रो देशका मुख्य दलहरुले यसबाट सिक्न थाले भने हाम्रो लोकतन्त्र पनि जोखिममा पर्नेछ ।’
सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद९साग० मा पदक विजेताका लागि घोषणा गरेको पुरस्कार र सम्मानको सर्वत्र प्रशंसा भएको उल्लेख गर्दै नेपाल समाचारपत्रले ‘खेलाडीको सम्मान’ शीर्षकमा सम्पादकीय लेखेको छ । सरकारले खेलाडीलाई प्रोत्साहनस्वरुप दिने पुरस्कार सकारात्मक भएको समग्र खेलकर्मीको धारणा भएको सम्पादकीयमा उल्लेख गरिएको छ ।
सागकै प्रशंगमा आजको नागरिक दैनिकले सिंगो राष्ट्र सागमा गौरवान्वित बनेका बेला त्यसका अभिन्न अंग नागरिकमाथि दमन गर्ने दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै सम्पादकीय लेखेको छ । ‘मुक्कासहितको सेवा’ शीर्षकमा देखिएको सम्पादकीयमा भनिएको छ– पछिल्ला दिनमा प्रहरीबाट भइरहेका गैरन्यायिक हत्या एवं दमनका दोषीलाई कारबाही गरिनुपर्छ ।
त्यसैगरी आजको आर्थिक अभियानले ‘मर्जर त यता पो चाहियो’ शीर्षकमा बैंक तथा वित्तीय क्षेत्रबाहिर झनै महत्वपूर्ण रहेको उल्लेख गर्दै स–साना निर्माण व्यावसायीले ठूला काम गर्न नसकेकाले ती संस्थालाई मर्जरमा लैजानुपर्नेमा जोड दिएको छ । मर्जरले अर्थतन्त्रमा गति ल्याउने उल्लेख गर्दै विकासको गतिमा ल्याउन सक्ने प्रभाव हेरेर जुनसुकै कम्पनीलाई पनि मर्जरमा जान प्रोत्साहित गरिनुपर्नेमा जोड दिइएको छ ।
हालैका दिनहरुमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा आशालाग्दो प्रगति देखिएको उल्लेख गर्दै कारोबार दैनिकले ‘वैदेशिक लगानीमा भएको सुधार’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘अहिले चीनबाट आशालाग्दो ढंगले लगानी बढेको छ, यो सकारात्मक सन्देश हो,’ सम्पादकीयमा भनिएको छ, ‘नेपालले जतिसक्दो वैदेशिक लगानी आकर्षित गर्नका लागि आफ्ना नीतिगत र कानुनी सुधारसँगै अन्य लगानीको वातावरण बनाउन पछि हट्नु हुँदैन ।’
