काठमाडौं २४ मंसिर , नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक हात पारेको छ। आज मङ्गलबार दशरथ रङ्गशालामा भएको फाइनल खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदकमाथि पुनः कब्जा जमाएको हो। नेपाल सागको साविक विजेता राष्ट्र हो।
नेपाललाई जित दिलाउन सुनिल बल र अभिषेक रिजालले १–१ गोल गरे। यससँगै जारी सागमा नेपालको स्वर्ण पदक सङ्ख्या ५१ पुगेको छ।
यसअघि पहिलो हाफ १(१ को बराबरीमा टुङ्गिएको थियो। नेपालले १६औं मिनेटमा अभिषेक रिजालको गोलमार्फत् अग्रता लिए पनि भुटानले बराबरी गोल फर्काएको थियो। भुटानका छेन्चो ग्याल्छेनले ३७औं मिनेटमा गोल गर्दै खेल १(१ को बराबरीमा ल्याएका थिए।
तर, नेपालले ५३औं मिनेटमा सुनिल बलको गोलबाट पुनस् २(१ गोलको अग्रता लिएको थियो। पहिलोपटक साग फुटबलको फाइनलमा पुगेको भुटानले साविक विजेता तथा घरेलु टोली नेपालसँग स्वर्ण पदकका प्रतिस्पर्धा गरिरहेको छ।
जारी सागमा यसअघि नेपाल र भुटानबीच भएको खेलमा नेपाल ४(० गोल अन्तरले विजयी भएको थियो। तर, भुटानले श्रीलंका, बंगलादेश र माल्दिभ्सजस्ता सशक्त टिमलाई हराएर फाइनलमा स्थान बनाउन सफल भएको हो। जारी सागमा इतिहास रच्दै फाइनलमा पुगेको भुटानी टोली स्वर्ण पदक हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। तर, यसअघिको खेलमा प्राप्त जितबाट उच्च मनबोल बनाएको नेपाली टोलीलाई घरेलु मैदान र दर्शकको साथ छ।
